थुनुवासँगै फरार प्रहरी जवानको भारतमा नौ वटा ट्याक्सी

थुनुवासँगै फरार प्रहरी जवानको भारतमा नौ वटा ट्याक्सी

लागूऔषध मुद्दाका थुनुवासहित फरार नेपाल प्रहरीका तत्कालिन जवान डेढ दशकपछि पक्राउ परेका छन् । १६ वर्षअघि लागूऔषध (खैरो हिरोइन) मुद्दाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासत कक्षमा रहेका भारतीय नागरिक ३९ वर्षे अरफ आलमलाई भगाएको आरोपमा प्रहरीका पूर्वजवान ४१ वर्षे विरवलराय यादवलाई नियन्त्रणमा लिइएको छ । 

रौतहटको पथरावुधाम–३ निवासी उनी लामो समयदेखि भारतमा बस्दै आएको तथ्य खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई नेपाल–भारत सीमाना नजिकैको काकडभिट्टाबाट नियन्त्रणमा लिएको हो । 

तत्कालिन प्रहरी जवान यादवले प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादीलाई हिरासतबाट निकालेर कालिमाटी–कलंकी–बुटवल हुँदै भारत पुर्याएका थिए । 

त्यसबापत उनले तत्कालिन समयमा एक करोडबाट सुरु गरी १० लाखमा डिल गरेका थिए । तर अन्तमा छ लाख २५ हजार बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

प्राप्त रकमबाट भारतको कोलकत्तामा दुई वटा ट्याक्सी किनेर चलाएका उनीसँग अहिले नौ वटा ट्याक्सी रहेको प्रहरीको भनाई छ । उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राईभिङ्ग लाइसेन्स समेत बनाएका छन् । यादव कोलकत्तामा श्रीमतीसहित बस्दै आएका थिए । 

पक्राउ परेपछि उनलाई आवश्यक कारबाहीका निम्ति प्रहरी परिसर, काठमाडौं ल्याइएको छ । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १०२ अनुसार सजाय हुने छ ।

टिप्पणीहरू