नेता बन्न माओवादीमा मारामार
सुदूरपश्चिम प्रदेशमा दलको नेता कसलाई बनाउने भन्ने विवादले सत्तारुढ नेकपा माओवादी केन्द्रमा किचलो चर्किएको छ । असन्तुष्ट खेमाले बहुमत जुटाएर खगराज भट्टलाई दलको नेताबाट हटाएपछि माओवादी विवाद 'क्लाइमेक्स' मा पुगेको हो ।
अस्ति शुक्रबार संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरेको थियो । तर,आज बसेको प्रदेश पदाधिकारी बैठकले तत्काल सो निर्णय सच्याउन निर्देशन दिएको छ ।
धनगढीमा बसेको बैठकले पार्टीको विधि विपरित र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै निर्णय सच्चाउन भनेको हो । उक्त निर्णयबारे जानकारी गराउन प्रदेश कमिटीका तर्फबाट सबै जिल्ला संयोजक र इञ्चार्जलाई सम्बोधन गर्दै परिपत्रसमेत पठाईएको छ।
प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षतामा बसी दलनेता परिर्वतन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टी परम्परा, विधिविपरित केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।'
तर, असन्तुष्ट समूहले भने बहुमत सांसदले गरेको निर्णय फिर्ता नलिने अडान लिएको बताइएको छ । भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा संसदीय दलका ६ जनाले हस्ताक्षर गरेका थिए । प्रदेशमा माओवादीका ११ सांसद छन् ।
टिप्पणीहरू