दाजु पैसा अफर गर्ने, भाई गुण्डा बोलाउने

दाजु पैसा अफर गर्ने, भाई गुण्डा बोलाउने

यौनका लागि नेपाली युवतीलाई शिकार बनाउँदै आएका भनिएका बैंककमा बसोबास गर्ने दाजुभाईले पीडित युवतीहरुलाई पैसाको अफर गरेको खुलासा भएको छ । थाइल्याण्डमा समाजसेवाको आवरणमा नेपालीभाषी युवतीहरुमाथि गलत नियत राखेका भनिएका कुमार कार्की र जेम्स कार्कीले पीडितहरुको मुख बन्द गर्न अप्रत्यक्ष रुपमा पैसाको अफर गरेको बताइएको छ ।

एक जना पीडित युवतीले जनआस्थासँग भनिन्, ‘मैले मेसेजहरु आउट गरेपछि  उस (कुमार) ले मलाई फोन गरेर सबै मेसेजका स्क्रीनसर्टहरु डिलिट गर्न भन्यो । तर मैले मानिन । उसले यत्तिसम्म भनेको थियो कि, बहिनी प्लीज त्यो सबै स्क्रीनसर्टहरु डिलिट गरेर मसँग केही माफी मागेजस्तो स्टाटस हालिदेउ न । मेरो परिवार छ, इज्जत छ, सबै बिग्रन्छ । यसको बदलामा तिमीलाई मैले के कति गर्नुपर्छ, म तयार छु । तर यो कुरा तिमी र म बाहेक अरु कसैलाई थाहा नहोस् ।’ 

तर युवतीले कुमारको सबै खालका प्रस्ताव अस्वीकार गरेको बताइन् । उनले भनिन्, ’गल्ती उसको । अझै माफी पनि मैले माग्ने रे । उसको इज्जत धरापमा पर्र्यो रे । मैले सिधै नाईं भनेर फोन काटिदिएँ ।’ 

कुमारले ती युवतीकी दिदीलाई समेत फोन गरेर समझदारीमा आउन दबाब दिइरहेको स्रोतको दाबी छ । पीडितकी दिदीलाई उल्लेख गर्दै स्रोत भन्छ, ‘उसले मलाई पनि फोन गरेर यो विषय सल्टाउन भेट्न आग्रह गरेको थियो । तर मैले मानिन । तिम्रा बहिनीहरुलाई सम्झाएर डिलिट गर्न लगाउ, बरु भेटेर कुरा गरौँ, तिमीलाई के चाहिन्छ, म दिन तयार छु, भनेको थियो ।’ 

जवाफमा उनले भनिन्, ’यस्तो हुँदैन । तपाई यसरी गोप्य रुपमा फोन गरेर समझदारी गरौँ भन्दैमा म मान्नेवाला छैन । यो लडाईं मेरी बहिनीको लागि मात्र होइन, तपाईंहरुले अहिलेसम्म जति नेपाली चेलीहरुलाई प्रयोग गर्नुभएको छ, उनीहरु सबैको लडाईं हो ।’ 

सामाजिक सञ्जालमार्फत् छानी–छानी नेपाली युवतीको शिकार गर्ने कार्की दाजुभाईबारे जनआस्थाले केही दिनयता प्रमाणसहित समाचार प्रकाशन गरिरहेको छ । प्रकाशित समाचारमा पीडित युवतीहरुले उपलब्ध गराएका विभिन्न प्रमाणहरु देख्न सकिन्छ । 

तर यो घटना बाहिरिनुअघि पनि कार्की दाजुभाईले अन्य दर्जनौं युवतीलाई शिकार गरेर उनीहरुको मुख बन्द गरिदिन पैसाको खोलो बगाएको खुलासा भएको छ । 

पैसा र राजनीतिक शक्तिको प्रयोग गरेर दर्जनौं युवतीहरुको मुख बन्द गरिदिएको र नमान्नेलाई धम्काएको कारण पीडित युवतीहरुले खुलेर पीडा पोख्न नसकेको तीमध्येका एक जना युवतीका दाइले बताए । जनआस्थासँग उनले भने, ’अहिले कमसेकम २–३ जना बहिनीहरुले साहस गरेर भए पनि कुरा बाहिर ल्याएपछि यो विषय सतहमा आयो । नत्र पैसा र पावरको कारण आफ्नो मुख बन्द राख्न बाध्य भएका पीडित बहिनीहरु दर्जनभन्दा बढी छन् ।’ 

कार्की दाजुभाईले आफूहरुविरुद्ध समाचार लेख्ने केही मिडियालाई समेत धम्काएर समाचार डिलिट गर्न बाध्य बनाएको पनि पाइएको छ । पीडित युवतीका दाइले थपे, ‘यही (थाइल्याण्ड) बाट प्रकाशित हुने एउटा मिडियाले उनीहरुको कर्तुतबारे लेखेको थियो, तर त्यो मिडियाको सञ्चालकलाई नै धम्काएर समाचार डिलिट गर्न लगाएछन् ।’

पछिल्लो समय जेम्सले चर्चित गुण्डा नाइकेहरुको सहयोगमा पीडितहरुलाई थर्काउन थालेको बताइन्छ । कतिपय पीडित युवती र उनका आफन्त त्रसित देखिन्छन् । बेला बेलामा नेपालबाट बोलाउने त्यस्ता गुण्डाहरुको थाइल्याण्ड घुमघाको सबै खर्च कार्की दाजुभाईले व्यहोर्ने गरेका छन् । अहिले पनि एक जनालाई बैंकक र पटाया घुमाएपछि फुकेटको तयारी गरिरहेको कार्की दाजुभाई निकट एकजनाले बैंककबाट जानकारी दिएका छन् ।

टिप्पणीहरू