एकीकृत समाजवादीमा ७० वर्षे उमेर हद हट्यो, सबै कमिटी प्रत्यक्ष निर्वाचित
नेकपा एकीकृत समाजवादीले नेताहरुको उमेर हद नतोक्ने भएको छ । आज सम्पन्न पार्टीको केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षे उमेर हद नराख्ने निर्णय गरेको हो ।
७० वर्षे प्रावधानले सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वमा आउन बाधा पुगेपछि समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी प्रस्ताव अघि बढाएको थियो । उक्त प्रस्तावलाई परिषद् बैठकले अनुमोदन गरेको हो ।
समाजवादीले केन्द्रीय कमिटी १९९ सदस्यीय र पदाधिकारीको १९ सदस्यीय हुने पनि निर्णय गरेको छ । केन्द्रीय कमिटीअन्तर्गत केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहने प्रस्ताव पनि बैठकले पारित गरेको छ । केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र परिषद् रहने बताइएको छ ।
प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहने तथा जिल्ला धेरै भएको प्रदेशमा बढी र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुने प्रस्ताव बैठकबाट पारित भएको छ ।
प्रदेश कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव तीन गरी सात जना पदाधिकारी हुनेछन् । यस्तै, पालिका कमिटीको संख्या ४५ र वडा कमिटीको संख्या ३५ हुने समेत निर्णय भएको छ ।
सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनेछन् ।
टिप्पणीहरू