बिनोद चौधरीको ग्यासचुल्हो पड्कियो

बिनोद चौधरीको ग्यासचुल्हो पड्कियो
सुन्नुहोस्

खाना पकाउन प्रयोग गरिने ग्यास (एलपिजी) सिलिण्डर पड्किने गरेको समाचार हामी सबैले सुनेका र देखेका छौं । तर,ग्यासचुल्हो पड्किएको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । डलर अर्बपति विनोद चौधरीको ‘सिजी ग्रुप’ ले बजारमा ल्याएको एलिका ब्राण्डको चुल्हो सर्वसाधारणको भान्छामा ‘बम’ बन्दै गएको छ । 

झट्ट हेर्दा आकर्षक देखिने उक्त चुल्होको माथिल्लो भागमा रहेको सिसा एकाएक पड्किएर सर्वसाधारणको जीवन जोखिममा पर्न थालेको छ । केही महिनाअघि राजधानीको एउटा भान्छामा चौधरीको चुल्हो पड्केपछि यो तथ्य बाहिर आएको हो ।

गत भदौ महिनामा काठमाडौं,गोङ्गबु निवासी अमृत अर्यालले सिजी कम्पनी आधिकारिक बिक्रेता रहेको एलिका ब्राण्डको ग्यासचुल्हो नयाँ बजारस्थित सिजी इलेक्ट्रोनिक्सबाट खरिद गरेर ल्याएका थिए । पकाउनमा सौखिन उनले ४७ हजार रुपैयाँमा चुल्हो किनेको बताए । परिवारलाई मीठा पकवान खुवाउने उनको योजनामा कालो बादल त्यसबेला लाग्यो जब चुल्होमा गम्भीर समस्या देखिन थाल्यो । 

अन्य कम्पनीभन्दा एलिका ब्राण्डको चुल्होमा धेरै समस्या रहेको अन्य प्रयोगकर्ताको पनि अनुभव छ । उनीहरुको भनाइमा अर्को चुल्होमा छिनमै पाक्ने पकवान यसमा बनाउन घण्टौं लाग्छ । एकातिर भान्छामा घण्टौं बस्नुपर्ने, अर्कोतिर ग्यासको खपत पनि बढ्ने ।

कम्पनी म्यानेजर रोशन सिंहले भने धम्कीपूर्ण भाषाको प्रयोग गरेको अर्यालले सुनाए । सिंहले ‘आइन्दा फोन गरे राम्रो नहुने’ भन्दै धम्काएको उनको दाबी छ । 

परिवारका अन्य सदस्यले चुल्होको गुणस्तरबारे गुनासो गर्न थालेपछि आफूले कम्पनीलाई जानकारी गराएको अर्याल बताउँछन् । तर, कम्पनीका प्रतिनिधिले दिएको जवाफ उनका लागि अप्रत्यासित थियो । अर्याल भन्छन्, ‘खरिद गरेको केही समयमै चुल्होमा अत्यधिक समस्या देखिन थाल्यो । चुल्हो तात्दै तात्दैनथ्यो । खाना पकाउन भान्सामा घण्टौं बस्नुपर्थ्यो । ग्यासको खपत पनि बढ्न थाल्यो । परिवारले चुल्हो साट्न सल्लाह दिए । सम्पर्क गरेँ तर उहाँहरुको जवाफ सुनेर आफैं तीन छक्क परेको छु ।’

उनका अनुसार कम्पनीको मोबाइल नम्बर ९८५१२४००५८ मा सम्पर्क गर्दा कर्मचारी भूमिका झाले त्यसमा केही गर्न नसक्ने जवाफ दिइन् । इटालियन चुल्हो भएकाले कम्पनीले त्यसको ग्यारेण्टी लिन नसक्ने झाको जवाफ अर्यालले जस्ताको तस्तै सुनाए ।  

गत मंसिर १७ गते उक्त चुल्होका कारण अर्यालको घरमा अप्रिय घटना भयो । धन्न,ठूलो क्षति भने हुन पाएन । राति ८ बजे परिवारका सदस्य खाना खाएर आ–आफ्नो कोठामा छिरिसकेका थिए । अचानक ग्यासको माथिल्लो भागमा भएको सिसा पड्कियो । छेउछाउको सिसा पनि पड्किएर छरपष्ट भयो ।

‘हामी सबै जना खाना खाएर कोठामा छिरिसकेका थियौं । चुल्हो आफैं पड्किन थाल्यो । हेर्न जाँदा सिसा पड्किएर छरपष्ट भएको देख्यौं । धन्न,ग्यास बलेको थिएन । नत्र ठूलो क्षति हुन सक्थ्यो’, उनले घटनाबारे सुनाए । सिसा उछिट्टएर लाग्दा एक जनाको हातमा सानो घाउसमेत भएको थियो ।

आफ्नो पाक रुची पूरा गर्न र परिवारको सुरक्षाका लागि महङ्गो मूल्य तिरेर खरिद गरिएको चुलोबाट ज्यानकै जोखिम हुने घटना घटेपछि उनलाई पुनः नयाँ चुल्हो किन्नुपर्ने बाध्यता आइपरेको छ । उक्त घटनापछि एलिका ब्राण्डले आफ्नो परिवारमा त्रास उत्पन्न गराएको गुनासो छ । 

घटनाबारे जानकारी गराउँदा सिसा ग्यारेण्टीअन्तर्गत नपर्ने भन्दै कम्पनी पन्छिएको अर्यालको भनाइ छ । घटनाको भोलिपल्टै कम्पनीमा सम्पर्क गर्दा कर्मचारी झाले उनलाई यसबारे केही गर्न नसक्ने बताएकी थिइन् । 

यता, कम्पनी म्यानेजर रोशन सिंहले भने धम्कीपूर्ण भाषाको प्रयोग गरेको अर्यालले सुनाए । सिंहले ‘आइन्दा फोन गरे राम्रो नहुने’ भन्दै धम्काएको उनको दाबी छ । अर्यालले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालत जाने तयारी थालेका छन् । उक्त कम्पनीका चुल्होको बिक्रीवितरण रोक्नका लागि रिट पनि हाल्ने उनैले जानकारी दिए ।

डलर अर्बपतिको कम्पनीले भने अर्याल र उनको परिवारले चुल्हो प्रयोग गर्न  नजानेको आरोप लगाएको छ । ‘टेम्पर ग्लास’ तातेको बेलामा पुछ्दा पड्किएको कर्मचारी झाले बताइन् । भनिन्, ‘उहाँले युज गर्न जान्नुभएन । तातेको बेलामा पुछ्दा पड्किहाल्छ नि !’

टिप्पणीहरू