पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीको उच्च प्रशंसा

पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीको उच्च प्रशंसा
सुन्नुहोस्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताका रुपमा चित्रण गर्दै प्रशंसा गर्नुभएको छ ।

आज काठमाडौँमा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले बिगतमा आफू उपाध्यक्ष रहेको पार्टीका अध्यक्षले राजनीतिमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेताका भएको पनि बताउनुभयो ।

‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालिन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ', भण्डारीले भन्नुभयो, 'उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’

संसदमा ओलीले गरेका भाषणहरू राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पूर्वराष्ट्रपतिको भनाई छ । ति विषय संकलनीय र संग्रहणीय रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

'नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरुले गरेका सार्वजनिक अभिव्यक्तिहरुको दस्तावेजीकरणले ठूलो महत्व राख्दछ । अव यो संग्रह सबैको साझा सम्पति भएको छ । यस्ता अभिलेखहरु भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्दछ', पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

टिप्पणीहरू