संसदलाई 'बिजनेश' दिनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

संसदलाई 'बिजनेश' दिनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

संसदको आगामी हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने विधेयकको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्नुभएको छ ।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला प्रधानमन्त्रीले आज दिउँसो मन्त्रालयका अधिकारीहरूलाई बोलाएर चासो राख्नुभएको हो । त्यसक्रममा उहाँले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउने पर्नेमा जोड दिनुभएकको थियो । 

प्रधानमन्त्रीले निर्देशित गर्दै भन्नुभयो, 'अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले 'बिजनेश' दिएन भन्ने मत पनि छ । तर, यसपटक त्यस्तो नहोस् ।'

संसद शुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयक दर्ता गर्ने तयारीमा जुट्न पनि उहाँले मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । 'मुख्यसचिवले फलोअप गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला । यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । त्यो गुनासो नआउने गरी काम गर्नुहोला', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू