एक हजार र पाँच सयका नोट बजारबाट खिच्न माननीयको सुझाव

एक हजार र पाँच सयका नोट बजारबाट खिच्न माननीयको सुझाव

नेकपा एमालेका सांसद रघुजी पन्तले एक हजार र पाँच सय दरका नोट सरकारले बजारबाट खिच्नुपर्ने टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै उनले सरकारले ठूला दरका नोटलाई बजारबाट फिर्ता गर्नुपर्ने बताएका हुन् । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय डिजिटल बैंकिङ बढिरहेको र कागजी नोट प्रयोगमा कमी आएकाले कागजी नोटमा नियन्त्रण गर्नुपर्ने सांसद पन्तको तर्क छ । 

उनले भने,  ’एक हजार र पाँच सयका नोट सरकारले बिस्तारै बजारबाट खिच्दा हुन्छ । अहिले कारोबार डिजिटल भइसक्यो । सामान्य कारोबारका लागि २०/५० दरका नोट भए हुन्छ ।’

सासंद पन्तले सुरक्षण मुद्रण विधेयक, २०८० संशोधनको पक्षमा धारणा राख्दै विकसित देशमा चलिरहेको डिजिटल इकोनोमी सर्कुलेसन नेपालमा पनि आवश्यक रहेको उल्लेख गरे । ’अमेरिकी डलरमा एक सयभन्दा बढीको नोट छैन र पनि चलिरहेको छ संसारमा । डिजिटल इकोनोमी सर्कुलेसन चलिरहेको छ । तपाईंको हातमा नगद नोटको आवश्यकता नहुन सक्छ’, उनले भने । 

उपयोगिताको ह्रासको नियमलाई ख्याल राखेर आगामी ५० वर्षका विषयमा विचार गरी कागजी नोटबारे सोच्नुपर्ने सासंद पन्तको भनाई छ ।

टिप्पणीहरू