प्रधानमन्त्री भेट्नासाथ सरकारमाथि एमाले अध्यक्षको प्रहार
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विभिन्न निकायमा जथाभावी हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली मास्न खोजेको आरोप लगाउनुभएको छ ।
पार्टी निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले स्काउट,रेडक्रस,एनआरएनए जस्ता सामाजिक संस्थामा हस्तक्षेप गरेर सरकार स्वेच्छाचारी बनेको आरोप लगाउनुभएको हो । गठबन्धन पराजित हुने भएपछि सरकारले ती संस्थामा हस्तक्षेप गरेको ओलीको दाबी छ ।
‘रेडक्रस चल्न नदिने यो कस्तो सरकार हो ? गैरआवासीय नेपालीहरूले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने ? अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदङ्गा । अघिल्लो अधिवेशनमा गैह्र आवासीयको चुनावमा तीन वटा अध्यक्ष बनाउनुपर्यो । कांग्रेसलाई दुईवटा अध्यक्ष अनि अर्को जित्ने’, उहाँले भन्नुभयो,'यसपटक अधिवेशन भयो,सत्ता पक्ष हार्यो रे ? हारेपछि अधिवेशन नमान्ने,जित नमान्ने ? कस्तो सरकार बन्यो नेपालमा ? प्रणाली नै मासियो ।’
यसबारे आफूले आजै प्रधानमन्त्रीसँग कुरा गरेको र मिलाएर जाने जवाफ पाएको पनि ओलीले जानकारी दिनुभयो ।
ओलीले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । भेटमा शान्ति प्रक्रियाका बाँकी काम,संसदको हिउँदे अधिवेशन, समसामायिक राजनीतिलगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसी विधेयक पास गर्न सरकार र एमालेबीच समझदारी गर्ने विषयमा सल्लाह भएको जानकारी दिनुभएको थियो ।
टिप्पणीहरू