पाँच हजार बुझेका सांसदको चर्को आलोचना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले उपचार खर्चवापत सरकारबाट ४ हजार ९ सय ४२ रुपैयाँ लिएका छन् ।
पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरुले व्यक्तिगत खर्चका लागि राज्यको एक रुपैयाँसमेत नलिने घोषणा गर्दै आए पनि सांसद शाहले भने संसद सचिवालयबाट उक्त रकम बुझेको पाइएको हो । ’२०७९ पुसदेखि एक वर्षको अवधिमा सांसदहरुले औषधि उपचारका लागि लिएको खर्च विवरणमा उनले २०८० असोज २३ गते उक्त रकम बुझेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ ।
रास्वपाले आफ्नो आधिकारिक वेवसाइटमा ’हामी के गर्दैनौँ ?’ शीर्षकमा पार्टीले नगर्ने १३ वटा कामहरुको सूची राखेको छ । सूचीको पाँच नम्बर बुँदामा लेखिएको छ, ’कुनैपनि उपचारको बहानामा राज्यको स्रोतसाधन र शक्तिको दुरूपयोग गर्दैनौं ।’ तर, चलचित्रको रंगिन दुनियाँबाट राजनीतिमा आएका र समानुपातिक सांसद बनेका शाहले भने पार्टीको नीति लत्याएर उपचार खर्च हात थापेका हुन् ।
शाहको व्यक्तिगत पृष्ठभूमि हेर्दा उपचारकै लागि राज्यसँग पाँच हजार हात थाप्नुपर्ने हैसियतका होइनन् । ’दुई रुपैयाँ’ जस्तो हिट चलचित्रका निर्देशकसमेत रहेका उनको करोडौँको व्यवसाय छ । आर्थिक रुपमा सम्पन्न परिवारकै सदस्य पनि हुन् ।
तर, पुराना पार्टीले सुशासन दिन नसक्ने दाबी गर्दै राजनीतिमा आएका रवि नेतृत्वको रास्वपाका सम्पन्न सांसदले आफ्नो उपचारको लागि राज्यसँग हात पसारेको यो घटनलाई कतिपयले अनौठो मानेका छन् । एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ’रास्वापा पनि उही ड्याङको मुला हो । जनता लुट्न कोही पछि पर्दैनन्, केही आशा नगरे हुन्छ ।’
रास्वपाले लुटको नयाँ तरिका अपनाएको आक्रोश पोख्ने उनी लेख्छन्, ’यहाँ फरक यत्ति हो, पुराना नेताहरुको लुट्ने तरिका पुरानै छ, नयाँ नेताहरुले चाहीँ लुट्ने टेक्निक पनि नयाँ बनाएका छन् । कठै नि मेरो देश ।’
टिप्पणीहरू