उपचुनावबारे उपप्रधानमन्त्री र प्रमुख आयुक्तको छलफल
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ ।
आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उहाँहरुले हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा कुराकानी गर्नुभएको भएको हो । तीनै तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिइसकेको छ ।
निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक/एक पद रिक्त छन् । इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्र खालि भएको हो । प्रदेशतर्फ नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएकाले बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ रिक्त छ । यी दुबै स्थानमा पदपूर्तिका लागि उपचुनाव गर्नुपरेको भएको हो ।
त्यस्तै, स्थानीय तहतर्फ दुई जिल्ला समन्वय समिति प्रमुख, नगर उपप्रमुख र गाउँपालिका अध्यक्ष एक-एक, गाउँपालिका उपाध्यक्षमा दुई र १७ वडा अध्यक्ष गरी रिक्त २५ पदमा पनि एकैचोटी उपचुनाव गर्ने आयोगको प्रस्ताव छ ।
टिप्पणीहरू