संसदमा व्यवस्था विरोधीहरुको वैचारिक प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन
माओवादी केन्द्र संसदीय दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
आज बिहान सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन भन्नुभएको हो । प्रधानमन्त्रीले संसदमा उठ्ने व्यवस्थाविरोधी मतको बैचारिक प्रतिवाद गर्न पनि सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
'तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।'
आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताउनुभयो । उहाँले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।'
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।'
टिप्पणीहरू