राष्ट्रियसभा अध्यक्षमा एकाएक झक्कुको चर्चा
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा चर्चा कमाएका माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सांसद झक्कुप्रसाद सुवेदीको फेरि चर्चा शुरु भएको छ ।
माओवादी केन्द्रका केही नेताहरुको राष्ट्रिय सभा अध्यक्षको सम्भावित उम्मेदवारका रुपमा झक्कुको नाम चर्चामा ल्याइएको छ । तर, राष्ट्रियसभा अध्यक्षमा सत्तारुढ गठबन्धनका प्रमुख दुई पार्टी नेपाली काँग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दाबी गरिरहेको अवस्था भने छ ।
काँग्रेसको आन्तरिक राजनीतिलाई आफू अनुकूल व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउन चाहेको चर्चा छ । तर, कोशी प्रदेशमा गठबन्धनबाट एकपछि अर्को धोका खाएको माओवादी केन्द्र अध्यक्ष नछाड्ने तयारीमा रहेको नेताहरुको अभिव्यक्तिबाट बुझिन्छ ।
राष्ट्रियसभामा पहिलो दल भएकाले अध्यक्षमा आफ्नो पार्टीको दाबी स्वाभाविक हुने माओवादीका नेताहरु बताइरहेका छन् । त्यस्तै, आलोपालो प्रधानमन्त्रीको सहमतिअनुसार अर्को वर्ष काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधित्व शून्य हुने भएकाले पनि अध्यक्ष छोड्न नसकिने उनीहरुको तर्क छ ।
अध्यक्ष नछाड्ने अडानमा देखिएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पनि यसबारे छलफल भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा पार्टीले दाबी नछाड्ने बताउनुभएको छ । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘राष्ट्रियसभाको ठूलो दलको हैसियतले पनि अध्यक्षमा हाम्रो दाबी रहन्छ ।’
निर्वाचनमा काँग्रेसले इमान्दारिता नदेखाएको कारण कोशीमा चम्पादेवी कार्की पराजित हुनुपरेको बताउँदै प्रचण्डले अध्यक्षको अडानबारे गठबन्धनको बैठकमा कुरा राख्ने बताउनुभएको छ ।
टिप्पणीहरू