मन्त्री फेर्ने कुरा बाटाघाटामा हल्ला गर्दै हिँड्ने विषय होइन - अध्यक्ष नेपाल
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने कुरालाई हल्लाको विषय बनाउन नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरुलाई हटाएर क्याविनेट पुनर्गठन गर्न लागेको लामो समयदेखि चर्चा भैरहँदा पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । आज प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले मन्त्री फेर्ने विषयबारे बाटाघाटामा छलफल गर्न नहुने बताउनुभयो ।
सत्तारुढ दल नेपाली कांग्रेसका कतिपय नेताहरुले प्रधानमन्त्री नै फेर्नुपर्ने टिप्पणी गरिरहेकोमा पनि उहाँले असहमति जनाउनुभयो । तत्काल प्रधानमन्त्री फेर्ने विषयमा छलफल आवश्यक नरहेको नेपालको भनाई छ ।
'प्रधानमन्त्री वा मन्त्री कसैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन', उहाँले भन्नुभयो, 'मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरी हाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन ।'
अध्यक्ष नेपालले न्याय र अधिकारको निम्ति लडनेहरुलाई फरक बिचारलाई प्रतिवन्ध लगाउन नमिल्ने पनि धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो, 'संविधानलाई नै उखेलेर फाल्न खोज्यो भने बेग्लै कुरा हो । तर, न्यायको निम्ति, अधिकारको निम्ति भनौं अत्याचारका विरुद्धको आवाज बुलन्द गर्नका निम्ति पाउनुपर्छ ।’
टिप्पणीहरू