भिसाको निम्ति अध्यागमनमा लाइन बस्न नपर्ने
अध्यागमन विभागका सम्पूर्ण सेवा स्वचालित प्रणालीमा गएको छ । विभागले भिसालगायत अध्यागमन कार्यालयबाट प्रदान हुने सेवाहरु स्वचालित प्रणालीमार्फत् हुनेगरी आजदेखि कार्य प्रारम्भ गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभागमा आज आयोजित कार्यक्रममा उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । नेपालमा विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित गराउन तथा समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी र मितव्ययी बनाउन स्वचालित प्रणाली कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ ।
योसँगै नयाँ भिसा लिन, म्याद थप्न र पदयात्रा अनुमति प्राप्तिका लागि आवेदन र भुक्तानीका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने छैन । नाता प्रमाणित र विवाहका आधारमा गैरपर्यटक भिसाका लागिबाहेक अरु सेवाग्राहीले अनलाइनबाटै निवेदन दिन सक्ने जनाइएको छ ।
भिसा दस्तुर मोबाइल बैंकिङ्ग तथा वालेट सेवा प्रदायकहरुको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था छ । इ–सेवा, खल्तीमा रहेको ’गभर्मेन्ट पेमेन्ट’ मेनुभित्रको ’डिपार्टमेन्ट अफ इमिग्रेसन’मा गएर इमेलमा प्राप्त भौचर नम्बर राखेपछि भुक्तानी गर्न सकिने विभागले जानकारी दिएको छ । अन्तिममा भिसा स्टिकर टाँस्न मात्र विभाग वा अध्यागमन कार्यालय गए पुग्नेछ ।
विभागले भिसा जारी प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित, र सहज बनाउन कूटनीतिक र बिजनेश भिसाका लागि छुट्टै व्यवस्था गरेको छ । कुटनैतिक नियोगहरुसँग सम्बन्धित भिसाका सबै काम कन्सुलर सेवा विभागबाट र बिजनेश भिसा उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्रबाट जारी हुने जानकारी पनि दिइएको छ ।
सेवाग्राहीका लागि मात्र नभई अध्यागमन विभाग र अन्तर्गतका कार्यालयहरुको आन्तरिक कार्य सम्पादनलाई पनि पूर्णरुपमा ’डिजिटल’ र ’अटोमेसन’ गरिएको छ । अब कर्मचारीहरुलेसमेत आवश्यकताका आधारमा घरबाटै काम गर्नसक्ने छन् । यो महिनादेखि हस्तलिखित हस्ताक्षरको सट्टा ’डिजिटल सिग्नेचर’ प्रयोगमा ल्याइने र यसका लागि ’सिष्टम इन्टरग्रेसन’ को भइरहेको विभागले जनाएको छ ।
टिप्पणीहरू