‘बौद्धिक चोरीका आरोपित विश्वविद्यालयको सम्भावित उपकुलपतिको सूचीमा’
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्याङकिङमा पछाडि धकेल्नेहरु नै सर्टलिस्टमा परेकोमा आपत्ति जनाएकी हुन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने भन्दै उनले आशंकासमेत व्यक्त गरिन् ।
उनले भनिन्, ’आवेदनमा राम्रा मान्छेहरु परेकै छैनन् । त्योभित्र टेस्टेड फेल भएका अनुहारहरु पनि आएका छन् । किनभने पहिले विश्वविद्यालयको नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्याङकिङमा विश्वविद्यालयलाई पछाडि धकेलेका मान्छेहरु पनि आएका छन् ।’
राष्ट्रिय सभा सदस्य पौड्यालले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारले मुद्दा चलाएकालाई किन उपकुलपतिको छनौट सूचीमा राखियो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेकी छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छन्, ’फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’
टिप्पणीहरू