अभियान सफल भएको माओवादीको निष्कर्ष, पुरस्कार र दण्डको व्यवस्था गर्न माग

अभियान सफल भएको माओवादीको निष्कर्ष, पुरस्कार र दण्डको व्यवस्था गर्न माग

सत्तारुढ नेकपा माओवादी केन्द्रले ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मुलभूतरुपमा सफल भएको निष्कर्ष निकालेको छ । 

आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेश इञ्चार्ज र अध्यक्षहरुले रिपोर्ट पेश गर्दै अभियान सफल भएको बताएका हुन् । बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इञ्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए । त्यस्तै, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि धारणा राखे । 

प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा धारणा राख्ने नेताहरुले विशेष रुपान्तरण अभियान सफल र सार्थक भएको रिपोर्ट पेश गरेको जानकारी दिए । उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए । 
बैठकमा नेताहरुले राखेका धारणा सुनाउँदै सापकोटाले भने, ’कार्यकर्ताहरुले जनतामा केही आशा जगाएका छन् । आम नेता र कार्यकर्ताले जनताको कुरा सुनेका छन् । समाजसेवा गरेका छन् । विकास निर्माणको काममा सहभागि पनि भएका छन् । जबस मोर्चा र पार्टी चलायमान, गतिशिल र जीवन्त भएको छ ।’

माओवादीमा नेता, कार्यकर्ताहरुको मूल्यांकन कामका आधारमा गरिनुपर्ने विषय पनि जोडदाररुपमा उठेको छ । आज धारणा राख्नेहरुले राम्रो गर्दा पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने बताएका थिए । 

दुई दिनसम्म चल्ने बैठकमा विधान सम्मेलनमा प्रस्तुत गर्ने विधानको मस्यौदाबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो हप्ता काठमाडौँमा आयोजना हुँदैछ ।

टिप्पणीहरू