सिडिओले काँडेतार रोकेको अभिनेताको आरोप
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै अभिनेता नवल खड्काले सिनेमा हल सञ्चालकले आफ्नो चलचित्र प्रदर्शन गर्न नदिएको भन्दै असन्तुष्टि जनाए । चलचित्रको प्रचारप्रसारका क्रममा जनकपपुर पुग्दा प्रमुख जिल्ला अधिकारीले सिनेमा घर सञ्चालकहरुलाई चलचित्र नदेखाउन निर्देशन दिएको उनले बताए ।
वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारतबिरोधी चलचित्र भएको र नदेखाउनू भन्ने आदेश दिएर 'शो' रोक्न लगाएको खड्काको आरोप छ । सरकारले सेन्सर गरेर चलचित्र देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरुले चलचित्र प्रदर्शन रोक्न खाज्दा कानून आकर्षित हुन्छ की हुँदैन ? भन्दै उनले प्रश्नसमेत गरे ।
चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा काँडेतार चल्न दिनुपर्ने अभिनेता खड्काको भनाई छ । अभिनेता खड्काकै निर्देशन रहेको यस चलचित्रलाई सामना फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो । काँडेतारमा नवलको आलावा गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगतलगायतको अभिनय छ ।
राष्ट्रवादी धाराको सशक्त चलचित्रका रुपमा हेरिएको काँडेतार फागुन २५ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।
टिप्पणीहरू