वर्षालाई बाँच्न गाह्रो
अभिनेत्री वर्षा राउतले आफूलाई बाँच्न गाह्रो भइरहेको बताएकी छन् । श्रीमान सन्जोग कोइरालासँगको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि उनले आज सामाजिक सञ्जालमार्फत् आत्महत्याको विचार आउन थालेको बताएकी हुन् ।
वर्षा र सन्जोगको सम्बन्धमा पछिल्लो समय तिक्तता बढेको चर्चा मनोरञ्जन वृत्तमा व्यापक छ । वर्षा घर छाडेर माइती बस्न थालेको विषय सार्वजनिक भएपछि झन् उक्त चर्चालाई बल पुगेको हो । केही दिनअघि एक चलचित्रको प्रिमियरमा समेत उनको शरिरमा विभिन्न (घाउजस्तो) दाग देखिएपछि सन्जोगसँगको सम्बन्ध डिभोर्सको संघारसम्म पुगेको अनुमान धेरैले गरेका थिए । यद्यपि,वर्षा र सन्जोगले हालै एउटा संयुक्त अन्तर्वार्ता दिएर सम्बन्धमा कुनै समस्या नरहेको दावी गरिसकेका छन् । उक्त पृष्ठभूमि कतिपय व्यक्तिले अझै आफूमाथि विभिन्न लाञ्छना लगाइरहेको भन्दै वर्षाले ‘यो समाजमा बाँच्न गाह्रो भएको’ बताएकी हुन् ।
मिस्टर अर्जुन नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले संयुक्त अन्तर्वार्तामा श्रीमानलाई ‘तँ’ किन भनेको ? भन्दै सभ्यभाषा प्रयोग गर्न आग्रह गरेका थिए । त्यसमा जवाफ दिँदै उनले भनेकी छन्, ‘कहिलेकाहिँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ ।’
श्रीमानले श्रीमतीलाई ‘तँ’ भन्दा फरक नपर्ने समाजमा श्रीमतीले श्रीमानलाई ‘तँ’ भन्दा बबण्डर मच्चिनुपर्ने कुनै कारण नभएको वर्षाको बुझाई छ । ‘श्रीमतीलाई लाटी,अलच्छिनीजस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ,श्रीमतीले सहनुपरेको धोका, चोट, बेइजतिमा कसैलाई चासो हुँदैन’, उनले थपेकी छन् ।
समाजको दोहोरो मापदण्ड,बेइन्साफ र पक्षपाती सोचले धेरै महिलाले अन्याय सहँदै आइरहेको वर्षाको अनुभव छ । अघि भनेकी छन्, ‘यो मन कहिलेकाहिँ अन्धकारतिर तानिन्छ, यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो ।’
टिप्पणीहरू