‘कान्छी’को चर्चासँगै कटाक्ष : ‘सौता बनेकोमा बधाई’
केटीलाई पैसा, केटालाई वैँश ! महिला र पुरुषको कथित आवश्यकता झल्काउने यो कथन युवा पुस्ताकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी भनिएका विशाल खरेलको सन्दर्भमा चरितार्थ हुने बताइएको छ ।
एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी साम्राज्ञीले बिहे गर्न लागेको भनिएका युवक अविवाहित नरहेको खुलेको छ । साम्राज्ञीले मंसिर १ गते आफ्नो जन्मदिनको अवसरमा इन्गेजमेन्ट गरेको फोटो सार्वजनिकपछि विशालको पृष्ठभूमि सतहमा आएको हो । उनले साम्राज्ञीसँग बिहे गर्नकै लागि श्रीमतीलाई डिभोर्स दिएको खबर बाहिरिएको छ ।
त्यसो त साम्राज्ञीले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दा युवकको पूरा नाम खुलाएकी थिइनन् । ‘एस प्लस बी’ मात्रै देखाएकी थिइन् । तर त्यसको केही दिनमै विशालको वास्तविकता खुलेको हो ।
बताइएअनुसार अमेरिकामा व्यवसाय गर्दै आएका भनिएका विशालले १५ वर्षअघि नै सरिता सुब्बासँग बिहे गरेका थिए । उनीहरुबाट दुई वर्षका छोरा रहेको र पछिल्लो समय खरेलले डिभोर्सका लागि चर्को दबाब दिएको अमेरिकास्थित सुब्बा निकटस्थहरुले बताएका छन् । सरिता स्वयम्ले टिकटकमा भनेकी छन्, ‘दुनियाँको अगाडि मलाई गलत देखाउन तिमीले हाम्रो सम्बन्ध विषाक्त थियो भनिरहेका छौ, तर यो हाम्रो १५ वर्षको वैवाहिक सम्बन्ध र दुई वर्षीय छोरोको अपमान हो ।’
म्युजिक भिडियो छायाँकनका लागि गत वर्ष थाइल्याण्ड पुगेका साम्राज्ञी र विशाल त्यसपछि नजिकिएका हुन् । साम्राज्ञीसँग प्रेम सम्बन्ध सुरु भएपछि विशालले सरितामाथि विभिन्न आरोप लगाउँदै डिभोर्सको दबाब दिएको खबर बाहिरिएपछि विवाह नहुँदै साम्राज्ञी समेत विवादमा तानिएकी छन् ।
केही महिला अधिकारवादीहरुले साम्राज्ञीमाथि एउटी महिलाको परिवार टुक्राएको आरोप लागेको छ । कतिपयले उनलाई ‘सौता बनेकोमा बधाई’ भन्दै सामाजिक सञ्जालमा कटाक्षसमेत गरिरहेका छन् ।
टिप्पणीहरू