फिल्डको जग्गा, नापीबाट क्वाप्पै कित्ता

फिल्डको जग्गा, नापीबाट क्वाप्पै कित्ता
सुन्नुहोस्

धेरै वर्षअघि जग्गा किनेर घर बनाई आनन्दले बसेका दाहाल परिवारमा एकाएक संकट देखियो । आफ्नै घरको जग नजिकै किला गाड्न आएपछि झसंग भए । भूमाफियाले उनीहरूको जग्गा नापी कार्यालयको कित्ताबाट डिलिट गरिसकेको कुरा त्यतिबेला मात्रै थाहा पाए, जब घरको जगबाट उता सबै अरुको जग्गा देखियो । जबकि आफ्नै घर बनाउन पनि धेरै जग्गा छाडेका उनीहरूको सातो गयो । पछि नापी गएर बुझ्दा थाहा पाए– माफियाहरूले त कित्ता काटेर खाइसकेका रहेछन् ।

०७९ सालमा नक्सा सच्याइसकेर नाप नक्सा गर्ने र डेढ आना जग्गा कहाँ छ खोज्ने योजनामा रहेका जग्गा धनी गोविन्दप्रसाद दाहाल र उनका छोरा विदुर आफैँ दंग खाए । त्यतिबेला उनीहरूले खाईपाई आएको कित्ता नम्बर ५०१ को जग्गा बोधप्रसाद चौलागार्ईंंले कित्ता नम्बर ५१६ र ५१७ का जग्गाधनीले मिचेको भन्दै मुद्दा दर्ता गरे । विभिन्न समयमा अदालतबाट डोर नापी भयो । नापीले एकातिरबाट मात्रै जग्गा नापेर, जग्गाको प्वाइन्ट नबताउँदै जग्गाको सिमाना नगर र वडाको सिमाना भएको साथै राजकुलो भएको पहिचान नगरी ५१६ ले नै ५०१ को जग्गा मिचेको प्रतिवेदन पेश गरे । ०७८ पुस २८ गते दर्ता भएको जग्गा खिचोलासम्बन्धी मुद्दा २०७९ पुस १२ गते फैसला भयो । फैसलामासमेत जग्गाधनी गोविन्दप्रसाद दाहालले कित्ता नम्बर ५०१ मा जग्गा खिचोला गरेको नदेखिएको ठहर छ ।

उक्त ठहरपछि गोविन्दप्रसाद दाहालले कित्ता नम्बर ५१६ र कित्ता नम्बर १५७ लाई जग्गा मिचेको भनी मुद्दा दर्ता गरे । जग्गाधनी गोविन्दप्रसादका छोरा विदुर दाहालले गाउँ घरमा विभिन्न समयमा निकालिएको नक्सा ट्रेस र नापी कार्यालय धुलिखेलले आफ्नो रेकर्डमा राखेको नक्सा र ट्रेस नक्सा हेर्दा एउटै कित्ताका दुई प्रकारका ट्रेस कित्ता ५०१ परिवर्तन गरी ५०३ भएको र ५०३ कित्ता बनाई अर्कैले बिक्री वितरण गरेको र जग्गा ५०१ नै देखाइएको फेला पर्‍यो । पुरानो नक्साका माथिल्लो भागका कित्ता केरमेट गरेको देखियो । ५०१ लाई ५०३ बनाई सँगैको कित्ता ३७८ लाई ५०४ बनाएको फेला पर्‍यो । २०६४ सालमा कित्ता नम्बर ३७८ कित्ताकाट गरी ५०३ र ५०४ भएको ट्रेस नक्सा पनि मालपोत र नापी कार्यालयमा फेला पर्‍यो । तर, उक्त ट्रेसमा भएको ५०३ पुरानो नक्सामा उस्तै नदेखिएपछि नक्सा र ट्रेस बोकेर नापी कार्यालय पुग्दा ०६५ सालमा बिक्री गरेको ५१६ नक्सामा छ । ०६४ सालमा बिक्री गरिएको भनिएको ५०३ कित्ता नै छैन । कित्ताकाट गर्न बाँकी भएको भए ट्रेस कसरी बन्यो ?

नक्साभन्दा अगाडि ट्रेस कसरी बन्छ ? नापी कार्यालयका कर्मचारी नाजवाफ भएका छन् । जग्गाका माफियाले नापी कार्यालयका कर्मचारीसँगको सेटिङमा कित्ताकाट भइसकेको ब्लु नक्सा नै परिवर्तन गरी कम्प्युटर नक्सामा समेत कहिले कित्ता नै गायब बनाई ५ आना ३ पैसा बिक्री गरेको प्रमाणसहित पेश गरी नापी कार्यालय र कित्ता नम्बर ५०१ लाई ५०३ कित्ता बनाई बिक्रि गर्ने भुमाफियाका बिरुद्द गोविन्दप्रसाद दाहालको वारेसमा बिदुर दाहालले किर्ते जालसाझी मुद्दा दर्ता गरेका छन् । कित्ता नै साटफेर पारेर जग्गा बिक्री गर्ने गिरोह काभ्रेपलाञ्चोकमा सक्रिय भएको छ ।

०६३ सालमा हाल बनेपा नगरपालिका–५ घर भएका गोविन्दप्रसाद दाहालले किता नम्बर ३७७ को नाप नक्सा गरेर लिएको जग्गा १–१५–२–१ दाम, २०६४ सालमा कित्ता नम्बर ५०१ को ८ आना र २०६५ सालमा कित्ता नम्बर ५१६ को ५ आना गरी कूल १३ आना विक्री गरेका थिए । कित्ता नम्बर ५१७ मा रहेको १–२–२–१ जग्गा दाहालकै नाममा कायम थियो । कित्ता नम्बर ५१७ मा घर निर्माण गरेका दाहालले २०७३ सालमा साविक रविओपी गाविस–९ बाट सिफारिस लिएका थिए । २०७४ सालमा हालको बनेपा नगरपालिका–५ बाट निर्माण सम्पन्न लिएको प्रमाणपत्र छ । ०६४ सालमा नारायणप्रसाद दाहाललाई बिक्री गरिएको कित्ता नम्बर ५०१ को जग्गा २०६५ सालमा नारायणप्रसाद दाहालले नाप नक्सा गरी बोधप्रसाद चौलागार्ईंंलाई बिक्री गरे । ०७८ सालमा बोधप्रसाद चौलागार्ईंले नापी कार्यालय धुलिखेलबाट डोर नापी लगेर हाल कायम रहेको भनिएको ५०१ को कित्ता नम्बरमा ८ आना जग्गा हुनु पर्नेमा ५ आना मात्र देखिएको छ । कित्ता नम्बर ५१६ ले ३ आना मिचेको र कित्ता नम्बर ५१६ को ३ आना ५१७ ले मिचेको भन्दै कित्ता नम्बर ५१७ को घर अगाडी किल्ला गाड्न खोजे पछि मात्रै जग्गाको विवाद र भुमाफियाहरूले एउटै कित्ता पटक पटक विक्री गरिसकेको थाहा पाए ।

आफ्नै घर र जग्गामा किल्ला गाड्न खोजे पछि जग्गाधनी गोबिन्दप्रसाद दाहाल, जिल्लास्थित नापी कार्यालय र ५०१ जग्गा धनी बिच बिवाद हुन गयो । बिवाद भएकै भोलिपल्ट नै कित्ता नम्बर ५१७ जग्गा धनी गोविन्दप्रसाद दाहालका जेठो छोरा बिदुर दाहाल नापी कार्यालय पुगे । उक्त कित्तामा रहेको जग्गा १–२–२–१ दाम हुनु पर्नेमा १४ आना मात्र भएको जवाफ नापी कार्यालयले दियो । नापी कार्यालयका तत्कालीन अमिन नवीन खत्रीले गोविन्दप्रसाद दाहालले बिक्री गरेको ५०१ र ५१६ मा बढि काटिएको कारण त्यस्तो भएको जवाफ दिए । जग्गाधनी गोविन्दप्रसाद दाहालको छोरा बिदुर दाहालले अर्काको जग्गा जथाभावी काट्न मिल्छ भन्ने प्रश्नमा खत्रीले निवेदन दिनु सच्याइदिन्छु भन्ने जवाफ दिएका थिए ।

दाहाल परिवारको तर्फबाट क्षेत्रफल मिलान गर्न अनुरोध गरिएको निवेदन नापी कार्यालयमा दर्ता गरिएको थियो । नापी कार्यालयका अमिन नवीन खत्रीले क्षेत्रफल सच्याउन मानेनन् । ‘जसले जग्गाधनीलाई जानकारी नै नदिई जग्गाको कित्ताकाट गरेर एक व्यक्तिको जग्गा अर्काे व्यक्तिको नाममा पु¥याइदिनुभयो । अनि उहाँले नै निवेदन दिनु सच्चाइदिन्छु भन्नुभयो पछि उहाँले नै निवेदन लिन मान्नु भएन’, गोविन्दप्रसाद दाहालका छोरा विदुर दाहालले भने, ‘कहिले फाईल घरमै छुटेछ भन्ने जवाफ दिए, कहिले कार्यालय भए पनि फोन गर्दा आफू बाहिर रहेको र लामो छुट्टीमा बसेको बताए । कहिले कित्ता नम्बर ५१६ मा घर बनिसकेकोले क्षेत्रफल सच्च्याउन नमिल्ने जवाफ दिए ।’ नवीन खत्रीले दिएको दुःख र हैरानीका बारेमा कार्यालय प्रमुखसँग उजुरी गरे पछि निवेदन दिएको एक वर्षपछि मात्रै उक्त क्षेत्रफल सच्याइयो । घटेको जग्गाको क्षेत्रफल १४ आनाबाट १७ आना पुग्यो तर अझै डेड आना जग्गा पुगेन । डेढ आना जग्गा खोजि दिन माग गर्दा नसकिने भन्दै नापी कार्यालयका कर्मचारी फन्छँदै आए ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू