माओवादीको चुनाव चिन्ह फेर्न सुझाव, नाम बदल्न जनार्दनको जोड
सत्तारुढ नेकपा माओवादी केन्द्रको चालु विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने आवाज उठेको छ । प्रस्तावित विधानमाथि सुझाव पेश गर्दै अधिकांश समूहगत छलफलका सहभागीहरुले चुनाव चिन्ह फेर्नुपर्ने धारणा राखेका हुन् ।
केन्द्रीय सदस्य हिमाल शर्माले आफ्नो समूहको सुझाव पेश गर्दै पार्टीको चुनाव चिन्ह फेर्न प्रस्ताव गरे । उनले पार्टीको नाम समाजवादी पार्टी राख्न पनि समूहका केही सहभागीहरुले सुझाव दिएको बताए ।
बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पनि पार्टीको नाम र निर्वाचन चिन्ह फेर्न आफ्नो समूहबाट सुझाव आएको रिपोर्टिङ गरे । उनले सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाई पार्टी सदस्यता वितरण प्रक्रिया सरल हुनुपर्ने पनि बताए । निर्वाचन, लेखा र अनुशासन आयोगलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने पौडेलको सुझाव छ ।
आफ्नो समूहको सुझाव पेश गर्दै परशुराम रम्तेलले पनि चुनाव चिन्ह फेर्नुपर्ने धारणा राखे । विश्वभरका नेपालीलाई समेट्न सक्ने पार्टी बनाउनुपर्नेमा उनको जोड छ । चुनाव चिन्ह बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै अर्का प्रतिनिधि हरिराज अधिकारीले नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने प्रस्ताव गरे ।
केन्द्रीय सदस्य ओम शर्माले विधानको प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उपमहासचिव जनार्दन शर्माले पनि ठूलो जनसंख्या भएको शहरी क्षेत्रमा पार्टी विस्तार गर्न नाम बदल्नुपर्ने प्रस्ताव राखेका छन् ।
हिजोदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । आज १३ वटा समूहले सुझाव राखेका छन् । सात समूहले भोलि सुझाव पेश गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
टिप्पणीहरू