राप्रपाले केपी ओलीलाई सत्तामा पुर्याउन आन्दोलन गर्दैछ - दुर्गा प्रसाईं
बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गराउने नाममा राजसंस्था फर्काउने अभियान चलाइरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइले पूर्वपञ्चहरुको पार्टी राप्रपामाथि गम्भीर आरोप लगाएका छन् ।
राप्रापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रका लागि नभई सत्तामा जाने योजनाअन्तर्गत आन्दोलन गर्न लागेको उनले आरोप लगाएका हुन् । राप्रपाले गर्ने भनेको आन्दोलन एमालेलाई सत्तामा ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउन केन्द्रीत रहेको प्रसाईको दाबी छ ।
प्रसाईले भनेका छन्, 'राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्वहारा वर्ग र भुइँ-मान्छेका लागि नै हो,न त व्यापारिक वर्गको गाँस वास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो । राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो । नेपाली जनतालाई चेतना होस !'
राजा फर्काउने आन्दोलनमा रहेका प्रसाईं र राजसंस्थाकै एजेण्डा लिएर राजनीति गरिरहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनबीच विगतदेखि नै हार्दिकतापूर्ण सम्बन्ध छैन । विगतमा पनि प्रसाईंले लिङ्गदेन एमाले अध्यक्ष ओलीको निर्देशनमा चल्ने गरेको आरोप लगाएका थिए । उनीहरुबीच बेला-बेला कटाक्ष पनि चल्ने गर्छ ।
यहीबीच लिङ्ग्देनले आफ्नो आन्दोलनमा सहभागी हुने बचन तोडेपछि प्रसाईं थप रिसाएको बताइन्छ । मंगलबार भृकुटीमण्डपमा आयोजित 'नागरिक बचाऊ अभियान'को कार्यक्रममा आउँछु भनेर लिङ्गदेनले धोका दिएको प्रसाईं समूहको आरोप छ ।
आन्दोलनको पूर्वसन्ध्यामा लिङ्गदेन र प्रसाईंले भेट गरेका थिए । सोही भेटपछि प्रसाईलाई पार्टीमा भित्राउन राप्रपाले उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समितिसमेत गठन गरेको थियो । तर, भृकुटीमण्डपको आमसभामा प्रसाईले लिङ्गदेन मात्र होइन, राप्रपाका कुनै पनि नेता सहभागी भएनन् ।
टिप्पणीहरू