मन्त्री निवासको बाटो राम्रो बनाउन रास्वपा सांसदको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित निर्माणाधीन संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीयले मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सम्बोधन गर्नुपर्ने बताईन् । स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर उनीहरुले राखेका माग सम्बोधन नगर्ने कुरा बेठिक हुने सांसद कार्कीको भनाई छ ।उनले काठमाडौं–तराई फाष्टट्रयाक र सुख्खा बन्दरगाह संचालनमा आएपछि सो बाटो धेरै साँघुरो हुने भएकाले पनि सरकारले त्यसलाई फराकिलो बनाउनुपर्नेमा जोड दिइन् ।
‘ललितपुरको भैंसेपाटीमा प्रदेशदेखि संघीय मन्त्रीहरुका लागि जनताबाट जग्गा लिएर, जनताकै करबाट आलिशान भवनहरु निर्माण गर्ने तर त्यहीका जनता भने दैनिक आवातजावत गर्नका लागि हामीलाई पनि बाटो दिनुस् भनेर हार-गुहार गरिरहनुपर्ने, त्यही फाईल बोकेर कार्यालय, विभाग धाईरहनुपर्ने, आन्दोलन नै गरिरहनु पर्ने ? मन्त्री निवासको ३ तिर ११ मिटर चौडा बाटो बनाउँदै गर्दा पश्चिमतिरको बाटो भने ५ मिटर मात्र ।
मन्त्री निवासमा अग्लो पर्खाल लगाएपछि बाटो झन साँघुरो गल्ली जस्तो हुने निश्चित छ', सांसद कार्कीले भनिन्, 'फास्टट्रयाक र बन्दरगाह सञ्चालनमा आएपछि झन चाप थपिनेछ । फुटपाथसम्म बनाउने ठाउँ छैन । सडक दुर्घटनाको सम्भावना बढ्दो छ । ५ वर्ष भइसक्यो, स्थानीयले कुरा उठाएको । मैले पनि पटकपटक पत्र लेखेको छु । राष्ट्रिय सभा दिगो विकास समितिले २०७८ मा नै निर्देशन दिएको छ । मन्त्री पनि ५ पटक, ६ पटक फेरि सके । बाटोको अवस्था भने फेरिएन ।’
सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
टिप्पणीहरू