मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
सुन्नुहोस्

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिने भएका छन् । 

गत माघ ९ गते सरकारमा सहभागी जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । आज दिउँसो प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । 

मधेस प्रदेश सरकारमा अहिले केन्द्रीय गठबन्धनका दलहरु आवद्ध छन् । जसका कारण मुख्यमन्त्रीले बहुमत गुमाएका छैनन् । तर, सरकारको नेतृत्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने धारा १८८ (२) मा व्यवस्था छ । सोहीअनुसार  मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।  

१०७ सदस्यीय प्रदेशसभामा बहुमत कायम गर्न ५४ सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसदले मत दिए बहुमत जुट्छ । 

 प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३ र सरकार छोडेको जनमतका १३ सांसद छन् ।
 

टिप्पणीहरू