मधेश प्रदेशसभा बैठक अवरुद्ध
मधेश प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज २ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाएका थिए ।
तर, माघ ८ गते तत्कालीन मन्त्री महेशप्रसाद यादवमाथि भएको हमलामा मुख्यमन्त्री यादवले माफी माग्नुपर्ने भन्दै जनमतका सांसदहरूले बैठक नै अवरुद्ध गरेका हुन् ।
गत माघ ९ गते जनमतले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
१०७ सदस्यीय प्रदेशसभामा बहुमत कायम गर्न ५४ सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री यादवलाई काँग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका सात जना सांसदले मत दिए बहुमत जुट्छ ।
प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३ र सरकार छाडेको जनमतका १३ सांसद छन् ।
टिप्पणीहरू