प्रदेशको नाम महासमिति बैठकको मुख्य एजेण्डा बनाउन काँग्रेस नेताहरुको माग

प्रदेशको नाम महासमिति बैठकको मुख्य एजेण्डा बनाउन काँग्रेस नेताहरुको माग
सुन्नुहोस्

नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गत १४ वटै जिल्ला सभापतिहरुले प्रदेशको नामाकरणलाई महासमिति बैठकमा मुख्य एजेण्डा बनाउन माग गरेका छन् । 

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रदेशको नामाकरणबारे महासमिति बैठकमा छलफल गर्न माग गरेका हुन् । ‘यही फागुन ७ गतेदेखि १० गतेसम्मको महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा यो विषय प्रवेश गराउन अनुरोधसहित ध्यानाकर्षण गराउँदछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

जिल्ला सभापतिहरुले कोशीका केही जिल्लाको महासमिति सदस्यको प्रतिनिधित्व शून्य गराइएकोमा विरोधसमेत जनाएका छन् । उनीहरुले यथाशीघ्र सम्बन्धित जिल्लाका सभापतिहरुलाई समन्वय गरी प्रतिनिधित्व गर्ने व्यवस्थाका लागि ध्यानाकर्षण पनि गराए । 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘महासमितिको बैठकमा भाग लिने सदस्यहरुको सन्दर्भमा यस कोशी प्रदेश (१ नं. प्रदेश) को केही जिल्लामा नियम संगत निर्वाचित महासमितिको सदस्यहरुको हकमा विवादित भएको भनी सभापतिहरुको र सम्बन्धित जिल्लामा खटाइएको निर्वाचन अधिकृत समेतको राय नलिईकन मनोमानी ढंगले केन्द्रीय निर्वाचन समिति र नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट सम्बन्धित जिल्लाको महासमिति सदस्यहरुको प्रतिनिधित्व शुन्ष् गर्नु वाञ्छनीय नदेखिएकोले यथाशीघ्र जिल्लाका सभापतिहरुलाई समन्वय गरी प्रतिनिधित्व गर्ने व्यवस्थाका लागि अनुरोधसहित ध्यानाकर्षण गराउँदछौं ।’

टिप्पणीहरू