काँग्रेस भ्रातृ संस्थाद्वारा महासमिति बैठक बहिष्कार

काँग्रेस भ्रातृ संस्थाद्वारा महासमिति बैठक बहिष्कार
सुन्नुहोस्

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ । प्रतिनिधि चयनमा आफ्नो स्वयत्तता खोसिएको जनाउँदै युनियनले बैठकमा सहभागिता नजनाउने निर्णय गरेको हो । 

अध्यक्ष शिव लम्सालले आज विज्ञप्ति जारी गर्दै नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी प्रतिनिधि छनोट गरिएको आरोप लगाए । युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरेको उनको दाबी छ ।  

विज्ञप्तिमा लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप कदापि स्वीकार्य नहुने चेतावनी दिइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको सो निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरुलाई बल पुगेको अध्यक्ष लम्सालको ठहर छ । 

‘तसर्थ निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भर्त्सना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ । 

युनियनले अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वानसमेत गरेको छ। कांग्रेसको महासमिति बैठक आजबाट ललितपुरको गोदावरीमा शुरु भएको छ ।
 

टिप्पणीहरू