एमाले अधिवेशनमा एकीकृत समाजवादीका नेताको चर्चा
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार सहमतिमा नेतृत्व चयन गर्दै दुई दिनमा सक्ने तयारीका साथ शुरु भएको नेकपा (एमाले) कैलालीको नवौँ अधिवेशन लम्बिएको छ ।
नेतृत्वमा तीन गुटले दावी नछाडेपछि अधिवेशनको चौथो दिनसम्म चुनावी कार्यक्रमसमेत तय हुन सकेको छैन । ५६० प्रतिनिधि रहेको अधिवेशनमा केन्द्रीय सचिव लेखराज भट्ट पक्षले स्थायी समिति सदस्य कर्णबहादुर थापा र अर्को पक्ष केन्द्रीय सदस्य दामोदर भण्डारीसँग समानान्तर रुपमा छलफल गरेर अध्यक्षबाहेकका पद मागेका कारण चुनावी कार्यक्रम ढिला भएको बताइन्छ ।
रैथाने एमाले कर्णबहादुर, नारदमुनी राना र केन्द्रीय सदस्य झपट रावलले वर्तमान सचिव डेजी पाण्डेयलाई अध्यक्षमा अघि सारेका छन् । त्यस्तै, केन्द्रीय सदस्य दामोदर भण्डारी पक्षबाट यज्ञराज ढुंगाना उम्मेदवार बनेका छन् । पूर्वमाओवादी नेता लेखराज पक्षले भागभण्डामा कुरा नमिले अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जैसीको नेतृत्वमा पदाधिकारी उठाउने चर्चा छ ।
उम्मेदवारहरुले परिस्थिति आफ्नो पक्षमा पार्न प्रचार प्रसारलाई अनेक ढंगले अघि बढाएका छन् । एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी र प्रेम आलेको समेत अधिवेशनमा चर्चा भइरहेको छ । नेकपाकालमा प्रचण्ड–माधव समूह र पार्टी विभाजनमा साथ नदिएको कारण सोडारीले आफूविरुद्ध भ्रम फैलाएको पाण्डेय समूहको आरोप छ । सुखडस्थित प्रेम आलेको समेत लगानी रहेको भनिएको होटलमै बसेर यज्ञराज समूहले चुनावी गतिविधि गरेको आरोप पाण्डे पक्षको छ ।
देहीटान होटलमा बसेर सोडारी र ढुंगानाले चुनावका विषयमा छलफल गरेको चर्चा धनगढीमासमेत चलाइएको छ । सोडारीले होटलमा भेट भएको स्वीकार गर्दे आफू हाल काठमाडौंमा रहेको बताए । उनी जिल्ला सचिव र अध्यक्ष समेत रहिसकेका प्रभावशाली नेता भएकाले केही मत प्रभावित पार्नसक्ने अनुमान छ ।
अर्कोतिर डोटी पुख्र्यौली भएका कैलालीका एमाले नेता तथा कार्यकतासँग पूर्वमन्त्री आलेको राम्रो सम्बन्ध छ । उनले आफ्ना स्वकीय सचिव हेमन्त रेग्मीलाई खटाएर ढुंगानाको प्रचार गराएको आरोप लगाउने पक्षको दाबी छ ।
यज्ञराज र दुर्गाप्रसाद जोशी संसद विघटन गरेर ओलीले प्रतिगमन गरेको भन्दै तत्कालीन समयमा प्रचण्ड–माधव समूहको आन्दोलनमा उत्रिएका थिए । त्यो समय डेजी पाण्डे ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य भएका थिए ।
प्रतिनिधिहरुबीच पाण्डेय बलियो रहेपनि ढुंगानाले निक्कै खर्च गरेर मतदाता प्रभावित गर्न खोजेको कैलालीदेखि काठमाडौंसम्म चर्चा छ । जिल्लाको मध्यभाग घोडाघोडी नगरपालिकाको सुख्खड बजारमा जारी अधिवेशनको आइतबार अध्यक्ष ओलीले उद्घाटन गर्नुभएको थियो ।
पार्टीका जिल्ला इञ्चार्जसमेत रहेका गणेशसिंह ठगुन्नाको अध्यक्षतामा बन्दसत्र चल्ने गरेको छ ।
टिप्पणीहरू