ज्ञापनपत्र बुझाउन गएको राप्रपाको टोलीलाई प्रधानमन्त्रीको जवाफ : सरकारलाई धन्यवाद दिनुपर्छ

ज्ञापनपत्र बुझाउन गएको राप्रपाको टोलीलाई प्रधानमन्त्रीको जवाफ : सरकारलाई धन्यवाद दिनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याएको बताउनुभएको छ । आज दिउँसो ज्ञापन पत्र लिएर गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो भनाई राख्नुभएको हो । त्यसक्रममा उहाँले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिएर अझ राम्रोका लागि प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गर्नुभयो ।

‘नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ । लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन्’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तपाईंहरूले पनि त्यही माग राख्नुभएको छ । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’

उहाँले भुटानी शरणार्थी काण्ड, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानविन र कारबाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो । सरकारले अभियुक्तहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया टुंगाएर फाइल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ । ललिता निवासको आठ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ ।’

राप्रपाले आफ्ना मुद्दाहरू लिएर संघर्ष जाने निर्णय गरेकोप्रति आफ्नो भन्नु केही नरहेको उल्लेख गर्दै उहाँले आन्दोलन शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । ’सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस् । सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस्’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

भेटमा राप्रपाले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ ।

टिप्पणीहरू