सरकारी जग्गामा काँग्रेसको पार्टी कार्यालय
नेपाली काँग्रेस अछामका सभापति एवम् प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाहले सरकारी जग्गा आफ्नै पार्टीलाई बिक्री गरेका छन् । सभापति शाहले जिल्ला सदरमुकाम मंगलसेनको बैरागी धारास्थित सरकारी जग्गा आफ्नो नामको रैकर भन्दै तत्कालिन पार्टी सभापति भरतकुमार स्वाँर मार्फत् काँग्रेसलाई बेचेको बताइन्छ ।
शाहसँग किनिएको सरकारी जग्गामा नेपाली काँग्रेस अछामले जिल्ला पार्टी कार्यालय (बि.पि.स्मृति भवन) निर्माण गरेको छ । सरकारी जग्गामा निर्माण भएको भवनको लालपूर्जा नभएपछि टिकाटिप्पणी हुन थालेको छ । जिल्लाका विभिन्न पालिकाबाट उक्त भवन निर्माणको नाममा रकम उठाइएको थियो । अहिले सोही भवनको कागजात देखाउन आग्रह गरेपछि वर्तमान पार्टी सभापति एवम् प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाहमाथि चर्को पर्न थालेको छ ।
नेपाली काँग्रेस अछामका एक नेताका अनुसार जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य पुष्पले आफ्नै पार्टीलाई सरकारी जग्गा बिक्री गरेको तथ्य खुलेपछि स्थानीय चकित भएका हुन् । कुनै बेला निर्माण व्यवसायी समेत रहेका शाहले नाफाको निम्ति जे गर्न पनि तयार हुने छबि बनाएका छन् । विभिन्न फर्जि कागजातको आडमा सरकारी जग्गा बेचेर पार्टीबाट मोटो रकम असुलेको काँग्रेसकै नेताहरुको आरोप छ ।
स्थानीय नेता डम्बर स्वारले सामाजिक सञ्जालमा नेपाली काँग्रेस अछामले सरकारी जग्गामा भवन निर्माण गरेको खुलासा गरेका छन् । फेसबुकमा स्वारले लेखेका छन्, ‘नेपाली काँग्रेसको पार्टी कार्यालयको लालपुर्जा खै, पुरानो जग्गा कतिमा किनेको र कसरी बिक्री भाको हो, नयाँको मूल्य कति ?’
स्रोतका अनुसार काँग्रेस अछामले सरकारी जग्गा किन्नुअघि काँग्रेससँग आफ्नैे लालपुर्जा भएको जग्गा थियो । तर हालका माननीय र पार्टी सभापति रहेका शाहले यसअघि भरतबहादुर सभापति हुनु पहिले आफू पार्टी सभापति रहेका बेला लालपुर्जावाला जग्गा व्यक्तिको नाममा गराइदिएको भन्नेहरु पनि भेटिएका छन् । त्यतिबेला पनि माननीयले राम्रै लाभ लिएको बताइन्छ । ‘पार्टीको सम्पत्ति हिनामिना गर्दा त्यो बेलामा पनि जिम्मेवार नेताहरु चुप बसेपछि माननीय शाहको गति बढेको हो,’ एक जना नेताले भने ।
सदरमुकामको बजार क्षेत्रमा रहेको सरकारी जग्गा आफ्नो भन्दै भवन निर्माण गर्न दिएर लाखौँ रकम असुल्नुको कारणलाई राजनीतिक सम्बन्धसँग जोडिएको छ । शाह प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र केन्द्रमा सभापति शेरबहादुर देउवा निकट भएकै कारण कसैले बोल्न नसकेको काँग्रेसीहरुको बुझाई छ ।
तर शाहले भने सो जग्गा आफ्नै भएको दावी गर्दै आएका छन् । पहिलेको नापीमा छुटेकाले पछि विशेष नापीमा राखेर आफ्नो स्वामित्वमा ल्याएको बताए । उनले भने, ‘विरोधीले गलत प्रचार गरिरहेका छन् ।’
टिप्पणीहरू