प्रभुका कार्यकर्ता भित्र्याउँदै केपी ओलीद्वारा माधव नेपालको निन्दा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्ने तत्वसँग पार्टी एकता नहुने बताउनुभएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालतर्फ इंकित गर्दै उहाँले तत्कालीन समयमा सरकार ढालेर पार्टी विभाजन गरेकोमा गल्ति महसुस नगर्नेहरुलाई एमालेमा ठाउँ नहुने प्रष्ट पार्नुभयो । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भन्नुभयो, 'कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन् ।'
दुई तिहाईको पार्टी फुटाएकोमा पश्चाताप नगरेकाले माधव नेपालसँग एकता सम्भव नरहेको उहाँको भनाई छ । ‘कुनै हिसावले कुनै समयमा गल्ती भयो भने त्यसमा महशुस गरेर अघि बढ्ने हो । उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन ।'
गल्ती महसुस गर्नेहरुलाई भने पार्टीमा भित्र्याउन सकिने ओलीले बताउनुभयो । 'गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ', उहाँले भन्नुभयो ।
त्यसक्रममा पूर्वप्रदेशसभा सदस्य तथा प्रभु साह नेतृत्वको आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, सो पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरीलगायतका नेताहरुलाई ओलीले खादा र अबिरको टिका लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
टिप्पणीहरू