चैत लागेपछि माओवादी मधेस झर्ने

चैत लागेपछि माओवादी मधेस झर्ने

सत्तारुढ नेकपा माओवादी केन्द्रले चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ ।  

पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । त्यस्तै, उत्तर-दक्षिण अर्को छुट्टै अभियान चलाउने पनि माओवादीको निर्णय छ ।

आजको बैठकमा अभियानको वर्गीकरण र मूल्यांकन तथा आवश्यक तयारीबारे छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै, संगठनात्मक कार्यविभाजन र सुदूरपश्चिम प्रदेशमा दलको नेताबारे उत्पन्न विवादका विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । 

यसअघि सम्पन्न 'माओवादी विशेष रुपान्तरण अभियान'का क्रममा धेरै खटिएका नेता-कार्यकर्तालाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ । भोलि बस्ने बैठकले नेता कार्यकर्ताको नाम सार्वजनिक गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

पार्टीले गठबन्धनबारे नेपाली काँग्रेसको महासमिति बैठकमा चलेको बहसलाई नजिकबाट हेरेको पनि उनले जानकारी दिए ।

टिप्पणीहरू