प्रकाण्डका छोरा अध्यक्ष चुनिएपछि अखिल समाजवादीमा आक्रोश

प्रकाण्डका छोरा अध्यक्ष चुनिएपछि अखिल समाजवादीमा आक्रोश
सुन्नुहोस्

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा नयाँ नेतृत्व चयनको विषयलाई लिएर विवाद शुरु भएको छ । 

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'का छोरा नरेन्द्रको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको भोलिपल्टै विवाद सतहमा आएको हो । संगठनको छात्रा विभाग प्रमुख तारा संज्यालले फेसबुकमार्फत नवनिर्वाचित केन्द्रीय समितिप्रति चर्को असन्तुष्टि जनाएकी छन् ।  

नेकपा सम्वद्ध विद्यार्थी संगठनको हिजो सम्पन्न २३ औँ सम्मेलनले १ सय ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सम्मेलनले संगठनको नाम परिवर्तन गर्दै अखिल (समाजवादी) राखेको छ । तर, प्रकाण्ड पुत्र नरेन्द्रलाई अध्यक्ष बनाएकोमा भने थुप्रै विद्यार्थी नेताहरु असन्तुष्ट रहेको चर्चा चलिरहँदा संज्यालको प्रतिक्रिया सार्वजनिक भएको हो ।  

नेताहरुलाई खुशी बनाउन सक्नेहरुलाई संगठनको नेतृत्वमा ल्याइएको आरोप लगाउंदै उनले नेता शिलु र संगठनका पूर्वअध्यक्ष प्रकाश शाहीप्रति चर्को आक्रोश पोखेकी छन् । 'पार्टी तिम्रा बाउको बिर्ता हो ?' भनेर उनले खरो प्रश्नसमेत गरेकी छन् । 

साँस्कृतिक बिचलन भएका र आर्थिक कारवाहीमा परेकालाई नेता मान्न नसकिने बताउँदै संज्यालले भनेकी छन्, ‘अति भो अब त सकिदैन । आर्थिक हिसाबले कार्वाही परेकालाई नेता मान्न सकिदैन । सांस्कृतिक विचलन भएका, कार्वाहीमा परि लामो समय निलम्बित भएकालाई नेता मान्न सकिदैन । सिन्को नभाच्ने बर्षौ घरमा बस्ने, एक इकाईसम्म नबनाएकोलाई नेता मान्न सकिदैन ।'

संगठनमा व्यक्तिवाद चलाइएको आक्रोश पोखेकी संज्यालले भनेकी छन्,  'हाम्रो पनि ठूलो देन छ, लगानी छ, जेल नेल भोगेको छौ,पुलिसका बुट खाएको छौ, यातना भोगेको छौ, अब प्रा.लि कम्पनी लेख लेटरहेडमा !'

फेसबुकमा उनले व्यक्त गरेका धारणालाई लिएर समाचार प्रकाशित भएपछि संज्यालले आफ्नो असन्तुष्टि नरेन्द्र र पार्टी नेतृत्वप्रति नरहेको प्रष्टीकरण दिएकी छन् । 

'मैले फेसबुकमा लेखेको स्टाटसलाई धेरैले न्युज बनाए छन्, मेरो स्टाटसको सार नरेन्द्र र पार्टी नेतृत्वविरुद्ध होइन', उनले भनिन् ।     

 

टिप्पणीहरू