काली भैंसी मस्र्याङ्दी तर्दै जब मध्यराति घर फर्केर आई

काली भैंसी मस्र्याङ्दी तर्दै जब मध्यराति घर फर्केर आई
सुन्नुहोस्

एउटै जीवनको उत्तरार्ध । सधैं एउटै हुन्छ मेरो सुत्ने समय । तर, आज निद्रा लाग्दै लागेन । निद्राको लागि पटक–पटक ओल्टे कोल्टे गर्छु । लामो स्वास लिएको हुन्छु । आँखा बन्द गरेको हुन्छु । जे गरे पनि निद्रा लाग्दै लाग्दैन । जसरी भए पनि निदाउनु नै पर्छ । तर, म निदाउन सक्दिनँ । भोलि बिहान सखारै मेरो देश छोड्नुपर्छ ।  जन्मथलो त पहिले नै छोडिसकेको थिएँ । किन छाडेँ त्यो पनि मलाई थाहा छ ।

म कस्तो अचम्मको मान्छे, आफ्नै जन्मथलोमा पनि अटाउन नसक्ने । तीन घण्टा अगाडि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्छ । मनको बेचैनी र एअरपोर्टको भीडभाड सम्झँदा वाक्कदिक्क लाग्छ । मसँग जाने छोरी र उनको परिवार पनि हुनुहुन्छ । साथमा श्रीमती छिन् । लामो यात्रा । ५–७ घण्टामा हवाईजहाज परिवर्तन गरिरहनुपर्ने झन्झट । नौलो र अपरिचित ठाउँ । मन त्यसै–त्यसै अत्तालिन्छ । अत्तालिनुपर्ने कुनै कुरा त थिएन किनभने साथमा परिवारका सदस्य छन् । सालनाल जोडिएको, आफूले खेली हुर्केको, दुई–चार अक्षर चिनेको, सकिनसकी स्नातकोत्तर गरेको धर्तीले के बिगारेको थियो र ! चट्ट माया मारेर विदेशिनुजस्ता कुराले सताउनुसम्म सताइरहेको छ । 

विवेकशील प्राणी हुँ । बुद्धि छ, ज्ञान छ, चेतना छ । के राम्रो– के नराम्रो छुट्ट्याउने खुबी छ । तर, क्षमता र विवेक हुँदैमा सबै कुरा आफ्ना पक्षमा आउन सक्दा रहेनछन् । कतिपय कुराको निम्ति अरूमा भर पर्नुपर्दो रहेछ । अरूले जता डोर्‍यायो उतै डोरिनुपर्ने । मायाले नै त मानिसलाई डो¥याउने हो । कहिले लाग्छ मेरा थिए र त डोर्‍याए । नभए कसले डोर्‍याउँथ्यो र ! सबै रमाइलो मात्र त हेर्ने हुन् । कसको मन कटक्क दुख्थ्यो र ? । त्यसैले संयमित हुन्छु र बिरानो मुलुकतिर पाइताला बढाउँछु । आफूलाई जहाँ अनुकूल हुन्छ त्यहीँ त जाने हो ।

काली भैंसीलाई बेचेर नदी कटाइयो । केही दिनपछि त्यो भैंसी लुरुलुरु मध्यरात पहिले आफू बसेको गोठमा फर्केर आएकी थिई । त्यति ठूलो वर्षाको मस्र्याङ्दी नदीको भेल छल्दै कसरी आई होला !

आफ्नो धर्ती भनेर पनि हुँदोरहेनछ । जन्मथलो भनेर के गर्ने, त्यहाँ पनि त अटाउन सक्नुपर्दोरहेछ । तर, अटाउन नसके पनि जन्मथलोजस्तो प्रिय अन्यत्र कतै हुँदोरहेनछ । बच्चामा गढेका कुरा पछिसम्म बिर्सन सकिँदो रहेनछ । मनमा जति नै तर्क वितर्क, सम्झना, बिर्सना भए पनि जन्मथलो र यो धर्ती भने कहिल्यै मनबाट बाहिर जान सक्दो रहेनछ । एकातिर भोलि प्लेन छुट्ने डर, अर्कोतिर मनमा उब्जिएका कुराको पिरलो । यसरी मनभित्र र बाहिर दुवैबाट तनाव । यिनै कारणले गर्दा सायद निदाउन नसकेको हुँला । 

केही समयअघि जन्मथलो छाडेर काठमाण्डु आउँदा ज्यादै नरमाइलो लागेको थियो । केही पाइला अघि बढाए पनि लुला हुँदै गएका थिए । जन्मथलोतिरै फर्कुं–फर्कुं लागेर आउँथ्यो । फर्केर पनि के गर्नु ? अहिले मलाई जे गर्‍यो त्यही जन्मथलोले नै त गरेको हो । दुर्ई छाक खाने बनायो । दुर्ई चार अक्षर पढ्न सक्ने बनायो । कहिले लाग्थ्यो छोड् यस्ता कुरा नगर । धर्ती भनेको एउटै हो ! जहाँ गए पनि उस्तै हो ! सबै आफ्नो । बनाउन सक्यो भने संसार नै आफ्नो । सकिएन भने एउटै कोख पनि बिरानो । यस्ता कुरा सम्झँदा सम्झिँदै भुसुक्क निदाएको हुन्छु । आफ्नो जन्मथलो जति प्रिय अरू कुनै हुँदैन । केटाकेटीको एउटा घटना बिर्सन सकेको छैन ।

काली भैंसीलाई बेचेर नदी कटाइयो । केही दिनपछि त्यो भैंसी लुरुलुरु मध्यरात पहिले आफू बसेको गोठमा फर्केर आएकी थिई । त्यति ठूलो वर्षाको मस्र्याङ्दी नदीको भेल छल्दै कसरी आई होला ! सम्झँदा निकै नरमाइलो लागेर आउँछ । काली भैंसी जन्मथलो सम्झेर फर्किंदा उसको आँखाभरि आँशु भरिएका थिए । न उसले केही खान मन गरेकी थिई न त अरू कतैतिर हेर्र्न नै ! मलाई लाग्थ्यो ऊ पीरै पीरले भरिएकी छ । यसरी एउटा जनावरलाई उसको जन्मथलोबाट लखेट्दा कति पीर पर्दोरहेछ भने हामी त विवेकशील मानिस हौं । पीर, चिन्ता र पीडा हुनु स्वाभाविकै हो । प्रत्येक दिन विमानस्थलबाट हवाईजहाजहरू अवतरण र प्रस्थान गरेका दृश्यले घच्घच्याएका हुन्थे । किन यसरी मानिस देश छोडेर जान्छन् ? । कतिपय उतैतिर हराएका हुन्छन् भने कतिपय फर्किएका पनि हुन्छन् । मानिस आफ्ना बाध्यता र कामको सन्दर्भमा बाहिर जाने आउने गरेकै हुन्छन् । तर, मलाई भने किन आफ्नो जन्मथलो छोड्नुपर्‍यो ? किन देश छोड्नुपर्‍यो ? 

जन्मथलो र धर्ती निर्जीव वस्तु हुन् । शून्य हुन् । यिनीहरूले केही गर्न सकेका हुँदैनन् । गर्ने त हामी विवेकशील मानिसले हो । त्यसैले मैले अठोट गरेँ कि भोलि बिहान ८ बजे जसरी भए पनि एअरपोर्ट पुग्नै पर्छ– खेली आएको जन्मथलो र यो धर्तीबाट केही समयको लागि भने पनि बिदा लिनै पर्छ । म तोकेको समयमा एयरपोर्ट पुगेको हुन्छु । मनमा अनेक कुरा सल्बलाउन थाल्छन् । के गरुँ के गरुँ जस्तो लाग्छ । लाग्छ अब म फर्केर जान सक्दिनँ । त्यसैले आफैँ सम्हालिनुपथ्र्याे । संयमित हुनुपथ्र्याे । मानिसको भीडभाड, ओहोर दोहोर, गाडीको कर्कश आवाज, चिच्याहट आदि कुराले उकुसमुकुस बनाएकै थियो । अनि झिटीगुन्टा डोर्‍याउँदै काउण्टरमा पुग्छु र जिम्मा लगाउँछु । यसबेला कामको ब्यस्तताले गर्दा केही नरमाइला कुरा बिर्सिएको हुन्छु । बोर्डिङ पास लिन्छु । जन्मथलो सम्झन्छु । अरूका रमाइला अनुहार नियाल्दै आफ्नो नरमाइलो अनुहार लिएर प्लेनभित्र पस्छु । प्लेनभित्र पनि मानिसको भीडभाड देख्छु । मलाई लाग्छ म सधैँको लागि जाने होइन । म जाने त छोटो अवधिका लागि हो । यही जन्मथलो र यही धर्तीमा फर्कने हो । किन चिन्ता लिने ? । धत् यस्ता कुरामा चिन्ता लिने होइन भन्ने लाग्यो र आफ्नै विचारमा परिवर्तन ल्याएँ । जे भयो ठीकै भयो भन्ने लाग्यो । एकैछिनपछि प्लेनले गति लिन थाल्यो विस्तारै विस्तारै । 

प्लेन अल्छी लाग्यो जस्तो गरी उत्तर मोहडा गर्दै अघि बढ्छ । हरिया जंगलको माथि–माथि उडिरहन्छ । अनि जंगल र पहाडी दृश्यलाई अवलोकन गर्दै हिमाललाई छोएजस्तो गर्छ । यी दृश्यले नरमाइरहेको मेरो मनलाई रमाइलो बनाइदिन्छन् । सेता टलक्क देखिने हिमाली दृश्यले सायद सबैको मन खुशी बनाएको छ । अनि प्लेनले केही दिशा परिवर्तन गर्दै दक्षिणतर्फ मोडिन्छ । तराईका समथर भूमिले झनै मन प्रफुल्ल पारिदिन्छ । केही छिनपछि आकाशमा कहाँ पुग्छ कहाँ, केही भेउ पाउन सक्दिनँ । अनि पुनः जन्मथलो र धर्तीको सम्झना आइहाल्छ । प्लेनले मेरो जन्मभूमिबाट मलाई बिदा गरायो अनि धर्तीबाट पनि । प्लेन अनन्त क्षितिजमा उडिरह्यो, उडी नै रह्यो । मैले चिनेको मेरो हिमाल हरायो । पहाड हरायो । समथल भूमि हरायो । अनि मैले महसुस गरेँ । सबै चिज गुमाएँ । सम्झना मात्र जीवन्त राख्न सकेँ । लाग्छ, प्लेनमा केही गडबडी भइदेओस् र मेरै धर्तीतिर फर्कियोस् । तर, प्लेन उडिरह्यो । म प्लेनको झ्यालबाट आफ्नो धर्तीलाई चियाइरहेको हुन्थेँ ।

तर, कहाँबाट मेरो धर्तीलाई देख्न सकूँ । प्लेन त विशाल महासागरमाथि पो उडिरहेको थियो । प्लेनको लामो गन्तव्यपछि कुनै स्थानमा अवतरण गर्ने कुरा यात्रुलाई जानकारी गराइयो । अर्थात् अर्कै धर्तीमा । मलाई लाग्यो धर्ती त सबैको साझा हो । यो पृथ्वी नै सबैको साझा भएपछि मेरो जन्मथलो र धर्ती भनेर पक्षपात गर्ने ? फेरि मनमा कुरा आइहाले किन मेरी काली भैंसीले सात नदी पार गरी आफू जन्मिएको ठाउँ सम्झेर आई त ? पशुले त यसरी आफ्नो जन्मथलो र धर्ती सम्झन्छ भने मानिसले किन नसम्झने जस्तो लागेर आउँछ । त्यसपछि जन्मथलो र धर्तीलाई झनै सम्झन थालेँ ।

अहिले नयाँ ठाउँ अमेरिकामा पुगेको छु । सबै कुरा नयाँ र नौला छन् । किन यस्तो फरक भन्ने कुरा पनि मनमा आइरहन्छ । आफैँ अकमक्क परेको हुन्छु । टोलाएको हुन्छु । मेरालागि सबै वस्तु अपरिचित हुन्छन् । परिचित भनेको त सम्झना मात्र रहेको छ, मेरो जन्मथलो र आफ्नै धर्ती । यसरी यो धर्तीदेखि त्यो धर्तीसम्म म पुगेको छु । यसपछि के हुन्छ ? । कहाँ पुगिन्छ ? । मलाई पो के थाहा र ! । जहाँ गए पनि धर्ती त आफ्नै प्यारो ! 
 

टिप्पणीहरू