ख्वपलाई विश्वविद्यालय बनाउन विधेयक माग

ख्वपलाई विश्वविद्यालय बनाउन विधेयक माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भक्तपुरस्थित ख्वप कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले ख्वपलाई विश्वविधालय बनाउने गरी विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् । 

भत्तपुर नगरपालिकाद्वारा सञ्चालित उक्त कलेजले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको चापसमेत अत्यधिक रहेकाले त्यसलाई विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने सांसद परियारको भनाई छ । उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महंगो छ । ख्वप कलेज भत्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो । त्यसले न्युनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् ।'

तर, ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै उनले प्रश्न गरे । आफूले औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीलाई विधेयक ल्याइदिन आग्रह गरेको सांसद परियारले स्मरण गरे । 

'शिक्षा नेपालको मेरुदण्ड हो । विकासको मेरुदण्ड हो । ख्वप कलेजमा पढ्नेको संख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेकय किन ल्याउनु हुन्न । तत्काल विधेयक ल्याइयोस्’, उनले भने । 

सरकारले समाजवादउन्मुखको नारा लगाइरहेपनि शिक्षा महंगो भइरहेको उनको भनाई छ ।
 

टिप्पणीहरू