महन्थ ठाकुरको नेतृत्वमाथि प्रश्न उठाउँदै लोसपा नेताको पत्र

महन्थ ठाकुरको नेतृत्वमाथि प्रश्न उठाउँदै लोसपा नेताको पत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव केशव झाले पार्टीको प्रभावकारिता बढाउँन अध्यक्ष महन्थ ठाकुरलाई नेतृत्व छाड्न सुझाव दिएका छन् । 

अध्यक्ष ठाकुरलाई पत्र पठाउँदै उनले नेतृत्व पुस्तान्तरण गर्न माग गरेका हुन् । पार्टीको इतिहास स्मरण गराउँदै झाले निर्मम समीक्षा गरेर गीयर चेञ्ज गर्न ढिलो भैसकेको बताएका छन् ।  

‘लोसपा चारवटा पार्टी (तमलोपा, सदभावना, रामसपा, नेसपा) को लिगेसी बोकेको पार्टी हो । अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफु विश्राम लिने पो हो कि अध्यक्षज्यू ?,’ उनले पत्रमा लेखेका छन्, ‘ईतिहासले सधैं अवसर दिदैंन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्षज्यू ।’

अध्यक्ष ठाकुरले मधेशको नेतृत्व गरेको १६ वर्ष भइसकेको स्मरण गराउँदै महासचिव झाले तमलोपादेखि लोसपासम्मको यात्रामा कहाँ चुक भयो भनेर सोधेका छन् । उनले मधेशी जनतासामु श्वेतपत्र जारी गर्न पनि सुझाएका छन् । 

‘स्वःमूल्यांकन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्षज्यू ?, झाको प्रश्न छ, 'तमलोपादेखि लोसपासम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेशी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि ?’

भागबण्डाको राजनीतिले पार्टी कम्जोर बनेको पनि उनको ठहर छ । 'भागबण्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्रनु गलत भयो कि ?' महन्थलाई उनको प्रश्न छ । 

राजनीतिक आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्नेबाहेक अरु केही हुन नसक्दा मधेशमा मधेशी दलहरु कमजोर भई एमाले, कांग्रेसजस्ता पुराना पार्टीहरु बलियो भएको महासचिव झाले बताएका छन् । जनतामा छाएको निराशालाई आशामा बदल्न नसके निष्प्राण हुँदै गएको लोसपालाई क्रमश: सबैले छोडेर जाने उनको चिन्ता छ  । 

‘आफ्रनै आमाबुबाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाईदिने वा गाड्ने गर्दछ, पार्टी त्यस्तो अवस्थामा पुग्दा के होला,’ झाले भनेका छन्, ‘सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिउँ अध्यक्षज्यू ।’

देशमा मधेशीजस्तो पीडामा रहेका आदिवासी जातजातिलगायत अन्य उत्पीडित समुदायहरुसँग हातेमालो गरेर अध्यक्ष ठाकुरले विगतमा देखाएको बहुलराष्ट्रिय राज्यको सपना पूरा गर्नका लागि अघि बढ्ने बेला भएको उनको भनाई छ ।
 

टिप्पणीहरू