राजा फर्काउन हिँडेका सांसदले संविधान सिकाए
राजा फर्काउने अभियानमा रहेका राप्रपाका सांसद ज्ञानबहादुर शाहीले गणतन्त्र चाहिने वा नचाहिने भन्ने कुरा संसदमा राख्न संविधानले नै छुट दिएको जिकिर गरेका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानको धारा २७४ ले उक्त व्यवस्था गरेको दावी गरेका हुन् । गणतान्त्रिक व्यवस्था चाहिने वा नचाहिने भन्ने संशोधन गर्न सकिने संविधानको सो धारमा स्पष्ट उल्लेख गरिएको शाहीले बताए ।
'नेपालको संविधानको धारा २७४ ले स्पष्ट कुरा के भन्छ भने यो देशमा यो व्यवस्था चाहिने वा नचाहिने भन्नेकुरा पनि संशोधन गर्न पाइन्छ । यो कुरा स्पष्ट भनिएको छ', उनले भने ।
सत्तारुढ दलका केही सांसदहरुले संविधानविपरित शाहीले संसदमा अराजक अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा मागेका थिए । तर, उनले संविधानको धारा १०३ ले वाक स्वतन्त्रता र बोल्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै बोलेकै आधारमा राजीनामा माग्न नपाइने बताए ।
यस्तै, संविधानको धारा ८७ ले सांसदको राजीनामा कुन आधारमा हुन्छ भन्ने कुरा स्पष्ट गरेको बताउँदै शाहीले आफ्नो राजीनामा माग्ने सांसदहरुलाई संविधान पढ्न सुझाए ।
'कसैसँग विचार मिल्दैन भन्दैमा अमूक मान्छेले राजीनामा माग्न पाइँदैन', उनले भने, 'अलिकति ज्ञान छैन भने संविधान पढ्नुपर्यो । संविधान पढेर आएर बोल्नपर्यो । पढ्न आउँदैन भने हामीसित सिकाइ माग्नुपर्यो । यो स्पष्ट कुरा हो ।'
टिप्पणीहरू