माओवादीले थप छलफलपछि नेताहरुको कार्य विभाजन गर्ने
विधान अधिवेशनले लिएको निर्णयबमोजिम कार्य सम्पादन प्रभावकारी बनाउने तयारीमा जुटेको सत्तारुढ नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल थालेको छ ।
आज अपरान्ह पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार नेताहरुको कार्यविभाजन गर्नेबारे छलफल भएको छ । बैठकमा विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्य सम्पादन हुने गरी कार्य विभाजन गर्ने विषयमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको कार्य विभाजन र पार्टीको चैत्र १ गतेबाट शुरु हुने तराई–मधेस जागरण अभियानका लागि मार्गचित्र बनाउन पनि नेताहरुलाई निर्देशन दिएको बताइएको छ । पार्टीको आगामी योजना तथा कार्यक्रमको बारेमा गृहकार्य गर्न अध्यक्षले दुई दिनको समय दिएको र मंगलबार बिहान बस्ने स्थायी कमिटीको अर्को बैठकमा विस्तृत छलफल हुने प्रवक्ता सापकोटाले बताए ।
‘यो स्थायी कमिटी बैठकको मुख्य एजेण्डा चाहिँ नयाँ परिस्थितिअनुसार, नयाँ कार्यभारअनुसार, नयाँ कार्य विभाजन हो । खासगरी प्रदेश इञ्चार्जहरुको र विभागको जिम्मेवारीहरु निश्चित गर्ने कुरा छ । र, त्यसको लागि अहिले व्यापक रुपमा गृहकार्य पनि भएको छ । अझ भनौं–पार्टपार्टमा बैठकहरु भइरहेका छन । स्थायी कमिटीका कमरेडहरुको बीचमा पनि छलफल भइरहेको छ । पदाधिकारीहरुको बीचमा पनि छलफल भइरहेको छ’, उनले भने ।
कार्य विभाजनलाई वैज्ञानिक, वस्तुवादी र प्रभावकारी बनाउन आवश्यक रहेकाले सोहिअनुसार छलफल भइरहेको पनि सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बालकुमारी घटनाका छानबिन समितिको प्रतिवेदनबारे भने आजको बैठकमा छलफल भएको छैन ।
टिप्पणीहरू