चैत २४ गते उम्मेदवारी दर्ता, २७ गते निर्वाचन चिन्ह वितरण
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्यतर्फ बझाङ क्षेत्र नम्बर १ मा वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गराउने भएको छ ।
त्यसका लागि आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिँदै छ ।
चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यस्तै, उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताको समय फागुन २४ गतेदेखि ३० गतेसम्म तोकिएको छ ।
चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापनापछि चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ ।
चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ ।
चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।
टिप्पणीहरू