यस्ता छन् क्याविनेटका डेढ दर्जन निर्णय

यस्ता छन् क्याविनेटका डेढ दर्जन निर्णय

सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा.सतिसकुमार देवलाई नियुक्त गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले उनलाई रजिष्टार बनाउने निर्णय गरेको हो । 

क्याबिनेटका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एंव सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका सर्लाहीको बरहथवा नगरपालिका–६ बस्ने जयशंकर साहको परिवारलाई आर्थिक सहायतास्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएकोसमेत जानकारी दिनुभयो । 

त्यस्तै, बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद यही फागुन १६ गतेबाट लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । बालकुमारी घटना जाँचबुझ आयोग, २०८० ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि यही फागुन २० गतेभित्र सुझाव पेश गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई जिम्मेवारी दिइएको छ । 

क्याबिनेट बैठकले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ । 

आगामी चैत ४ गते रसियामा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा पर्यवेक्षण गर्न तथा चैत २ र ३ गते आयोजना हुने इक्टोरल सार्वभौमिकता र अन्तर्राष्ट्रिय मानक सम्मेलनमा सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने क्याबिनेटको अर्को निर्णय छ । 

बैठकले यही फागुन १६ र १७ गते भारतीय विदेश सचिवसँग द्धिपक्षीय भेटघाट एंव छलफल तथा भारतको पुनेमा आयोजना हुने एसिया आर्थिक संवादको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । 

यस्तै, चैत १ गतेदेखि ९ गतेसम्म  अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिपेलिन्समेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन क्याविनेटले स्वीकृति प्रदान गरेको छ ।  

क्याबिनेट बैठकले न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पाँच जना अधिकृतको सरुवा एंव तीन जना अधिकृतको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

उता, संयुक्त अरब इमिरेट्सको दुबईमा यही फागुन १९ गते आयोजना हुन गइरहेको रोजगार मेलामा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई र फागुन २० गतेदेखि २९ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने ‘पोलिटिकल एण्ड पब्लिक अवार्ड २०२४’ कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई सहभागी हुन स्वीकृति दिने क्याविनेटको निर्णय छ । यसैगरी, चैत ६ र ७ गते अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्याविनेटबाट स्वीकृति पाएका छन् । 

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा रहने रिक्त सदस्य मनोनयनका लागि सरकारसमक्ष सिफारिस गर्न मनोनयन सिफारिस समिति गठन गर्ने पनि क्याबिनेट निर्णयमा उल्लेख छ । प्रतिजैविक प्रतिरोध-एन्टीमाइक्रोबियल रेजिस्टेन्स राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने तथा सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने समेत सरकारले निर्णय गरेको छ ।

टिप्पणीहरू