प्राधिकरणलाई थुक्दै हर्क साम्पाङले भने ‘धरानमा विमानस्थल बनाएरै छाड्छु !’
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले धरानमा विमानस्थल बनाएरै छाड्ने घोषणा गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नहुने बताएपछि उनले नियम संशोधन गरेर भएपनि विमानस्थल बनाइछाड्ने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा मेयर राईले लेखेका छन्, ‘तेरो नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने छौं । ज्यादा नखोक ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु...।’
यसअघि प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेकाले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको बताएको थियो ।
धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको पनि प्राधिकरणको निष्कर्ष छ ।
टिप्पणीहरू