कांग्रेस सांसदले सोधे- कृषिमन्त्री कहाँ हुनुहुन्छ ?

कांग्रेस सांसदले सोधे- कृषिमन्त्री कहाँ हुनुहुन्छ ?
सुन्नुहोस्

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दुध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै मन्त्री भुसालको भूमिकाप्रति आलोचना गरे । त्यसबारे संसदमा उपस्थित भएर कृषिमन्त्रीले जवाग दिनुपर्ने सांसद बडुको माग छ । 

‘केही दिनयता छापाहरुमा निरन्तर रुपमा दुग्ध किसानहरुले आफ्नो दुध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर यो सरकारको मन किन छुँदैन ?', उनले भने, 'सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त ? सदनलाई जानकारी हुनुपर्यो ।'

सांसद बडूले मीटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । कानून निर्माण भैसक्दा पनि सरकारले पीडितको समस्या समाधान गर्न नसकेकोमा उनले आपत्ति जनाए । 

'मीटरब्याज पीडितहरुका समस्या समाधान गर्न हामीले पछिल्लो संसदबाट कानून बनायौं । तर, आजबाट सबैतिरबाट काठमाडौं धाउनुपर्ने अवस्था किन रह्यो ? यदी यो कानूनमा अझै त्रुटी रह्यो भने ल्याउनुपर्यो, संसदमा संशोधन गरौं । होइन कानूनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन भने यो अर्को गम्भिर विषय हो । त्यसकारण सरकारले यी सबै विषयमा छिटोभन्दा छिटो संसदमा जवाफ दिनुपर्यो', उनले भने ।
 

टिप्पणीहरू