रिहानालाई एक अर्ब सवा करोड पारिश्रमिक, यस्तो रह्यो अनन्त अम्बानीको प्रि-वेडिङ (तस्वीरहरु)

रिहानालाई एक अर्ब सवा करोड पारिश्रमिक, यस्तो रह्यो अनन्त अम्बानीको प्रि-वेडिङ (तस्वीरहरु)

विश्वभरका धनीहरुको सूचीको माथिल्लो क्रममा रहेका भारतका खर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्तको तीनदिने प्रि-वेडिङ समारोह सकिएको छ । गत शुक्रबारबाट शुरु भएको समारोह आज राती कक्टेल पार्टीसँगै समापन हुनेछ । 

विवाह भोजमा सयौँको संख्यामा विश्वका प्रतिष्ठित व्यक्तिहरु सहभागी छन् । चार सयभन्दा बढी विदेशी र करिब १६ सय भारतीय गरी २ हजार भिआइपी पाहुना सहभागी भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । प्रसिद्ध गायिका रिहाना, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, मेटाका सिइओ मार्क जुगरबर्गलगायत विश्वकै चर्चित नेता, व्यवसायी, खेलाडी, कलाकारहरु समारोहमा सहभागी भएका थिए । 

सासु-बुहारीको लोभ्याउने पहिरन

मुकेश अम्बानी र निता अम्बानीले पाहुनाहरुलाई लामो यात्रा गरेर आइदिएकोमा धन्यवादसहित स्वागत गरेका थिए । त्यसक्रममा निता आकर्षक मरुन गाउनको पहिरनमा सजिएकी थिइन् । त्यस्तै, घरमा भित्रिएकी नयाँ बुहारी राधिका मर्चेन्ट पनि पिंक करलको आकर्षक गाउन पोशाकमा थिइन् । उनीहरुको पहिरनले उपस्थित सबैलाई लोभ्याएको थियो । 

समारोहमा विल गेट्सले भारत आउँदा निकै खुशी भएको बताएका थिए । त्यस्तै मार्क जुकरबर्गले आफू फेरि आउने प्रतिबद्धता गर्दै नवजोडीलाई शुभकामना दिए । 

रिहाना बनिन् आकर्षणको पात्र 

तीन दिने समारोहमा सबैभन्दा आकर्षक र रमाइलो क्षण रिहानाले बनाइन् । जसका कारण निम्तो मान्न आएका अतिथिमध्ये सर्वाधिक चर्चाको पात्र उनै बनिन् । समारोहको पहिलो दिन राती रिहानाको सांगीतिक प्रस्तुतीले अम्बानी परिवारका सबैजना स्टेजमै उक्लिएर नाचेका थिए । बिल गेट्स र मार्क जुकरबर्गले रिहानाको प्रस्तुतीको प्रंशसा गर्दै अविस्मरणीय क्षण भएको बताए । 

त्यसबेला बलिउडका हस्ती अभिताभ बच्चन छेउमा उभिएर ताली बजाइरहेका देखिन्थे । त्यस्तै, सलमान खान, शाहरुख खान र आमिर खानले पनि उभिएर रिहानालाई साथ दिए । 

प्राय: यस्ता मनोरञ्जनका सभा तथा समारोहमा बलिउडका कलाकारहरुले स्टेज नै कब्जा गरेको पाइन्छ । तर, त्यहाँ भने उनीहरुले रिहानालाई छेउमा उभिएर साथ दिए । 

भारतीय सञ्चार माध्यमका अनुसार रिहानाले उक्त प्रस्तुतीका लागि ७४ करोड भारु लिएकी छन् । जुन नेपालीमा सरदर एक अर्ब १८ करोड हुन आउँछ । रिहानाले यो रकम केवल ४ घण्टाको प्रस्तुतीवापत पाएकी हुन् ।


 

टिप्पणीहरू