प्रदेश राजनीतिमा पहिरो : तीन प्रदेशमा शुरु, लुम्बिनीमा छनक

प्रदेश राजनीतिमा पहिरो : तीन प्रदेशमा शुरु, लुम्बिनीमा छनक
सुन्नुहोस्

केन्द्रीय राजनीतिमा सत्ता समीकरण बदलिएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा देखिन थालिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगको सहकार्य छाडेर एमाले, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनाएसँगै प्रदेशमा पनि सोही अनुकूलका सरकार बनाउने प्रक्रिया शुरु भएको छ । 

गण्डकी र सुदूरपश्चिममा काँग्रेस नेतृत्वको सरकारले माओवादीका मन्त्रीलाई बर्खास्त गरिएको छ । कर्णालीमा माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

यता अप्ठेरो संसदीय गणित रहेको लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दौडधुप शुरु भएको छ । काँग्रेसका डिल्लीराम चौधरीको मुख्यमन्त्री पद धरापमा परेको बताउन थालिएको छ । 

फागुन २८ र २९ गते लुम्बिनीमा ‘बालबालिका, विकास र शान्तिका लागि लोरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौंथो शिखर सम्मेलन’ गर्न लागिएको थियो  । यसकै तयारीबारे जानकारी गराउन मुख्यमन्त्री चौधरीले अस्ति प्रधानमन्त्री प्रचण्डलाई भेटेको बताइन्छ । भेटमा प्रधानमन्त्रले चौधरीलाई ‘हाललाई त्यता नलाग्नुस’ भन्दै फर्काउनुभएको काँग्रेसीहरुले बताउन थालेका छन् ।  

हिजोबाट लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका दलका नेता लिला गिरी र माओवादी केन्द्रका दलका नेता जोखबहादुर महराले नयाँ नेतृत्वको निम्ति मार्गप्रशस्त गर्न चौधरीलाई आग्रह गरिसकेका छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ११ सांसद छन् । प्रष्ट बहुमतका लागि कम्तीमा ४४ सांसद चाहिन्छ । यस्तो अवस्थामा एमाले र माओवादी केन्द्रलाई अझै थप चार सांसदको समर्थन चाहिन्छ । तर, को–को थपिन्छन् ? त्यो भने संघीय सरकारमा भागबण्डा मिलाउन गठित केन्द्रीय कार्यदलले टुंगो लगाएपछि मात्र निश्चित हुने छ । 

पार्टीभित्रको आन्तरिक विवादले एमालेका लिला र माओवादी केन्द्रका जोखबहादुर पनि सहज अवस्थामा देखिँदैनन् । एमाले महासचिव शंकर पोखरेल निकट नेताहरु गिरीलाई हटाएर चेतनारायण आचार्यलाई दलको नेता बनाउन चाहन्छन् । उपाध्यक्ष विष्णु पौडेल निकट मानिने गिरीलाई सजिलै हटाउनसक्ने अवस्था पनि छैन ।

माओवादीभित्र पनि यस्तै अवस्था छ । उपमहासचिव वर्षमान पुन निकटका नेताहरु जोखबहादुर महरालाई हटाएर दिपेन्द्र पुन सिजललाई दलको नेता बनाउन चाहन्छन् । तर प्रचण्डका विश्वास पात्र मानिने महरा पछि हट्ने अवस्थामा छैनन् । महरा यसअघि प्रचण्डका प्रमुख स्वकीय सचिवसमेत रहिसकेका प्रभावशाली नेता हुन् ।

टिप्पणीहरू