खाली अभियान

खाली अभियान

अब मेयर बालेन साहले सिंहदरबार होइन, अदालत जलाइदेलान् कि भन्ने शंका उत्पन्न भएको छ । किनभने बालेन साहको अर्को आदेशलाई पनि अदालतले ठ्याक्कै रोकिदिएको छ । बालेन साह चाहन्थे कि ललिता निवास तुरुन्त खाली गरियोस् । खाली गर भनेर उनले एउटा सूचना पनि निकालेका थिए । तर, अदालतले भन्यो, अहिल्यै खाली गर्नु पर्दैन । खेल अझै बाँकी छ । 

यति बेला बालेन साह खाली गराउने अभियानमै छन् । यस्तो लाग्छ, उनी मेयर भएकै खाली गर्नलाई हो । फुटपाथबाट ठेला खाली गर्ने, सडकबाट पार्किङ खाली गर्ने, नदी किनारबाट सुकुम्बासी खाली गर्ने, शहरबाट कवाडी खाली गर्ने आदि आदि । खाली गर्ने यो अभियान देख्दा त यस्तो लाग्छ, अब एकदिन उनले सिंहदरबारमा प्रधानमन्त्रीको कुर्सीसमेत खाली गरिदिन्छन् ।

पूरा काठमाडौंलाई खाली नपारेसम्म उनको अभियान समाप्त पनि हुने छैन । उनको यो अभियानले गर्दा कतिको रोजगारी खाली भयो, कतिको बजार खाली भयो, कतिको आयस्रोत खाली भयो । काठमाडौं महानगरपालिकाको अरु जम्मै योजना खाली नै छन् कि क्या हो, खालि खालीकै पछि लागिरहेको देखिन्छ बा ! 
 

टिप्पणीहरू