मन्त्रिमण्डलमा बाँकी के रह्यो मनमुटाव ?

मन्त्रिमण्डलमा बाँकी के रह्यो मनमुटाव ?

नयाँ मन्त्रिमण्डलमा सहभागी हुने औपचारिक निर्णय गरिसकेका जसपा अध्यक्ष उपेन्द्र यादवको वरीयतामा एमालेबाट  उपप्रधानमन्त्री रघुवीर महासेठभन्दा माथि रहनुपर्ने अडान कायमै  छ । जसपाले अस्ति सोमबार नै सरकारमा जाने निर्णय गरिसकेर पनि शपथ भैसकेको छैन  । 

अध्यक्ष उपेन्द्र आफैँ सरकारमा सहभागी हुन तयार छन् । तर,मधेस सरकार निरन्तरताको सुनिश्चितता र क्याबिनेटमा रघुवीरभन्दा माथिको वरीयता खोजेका उनले प्रधानमन्त्रीसमक्ष आफू (स्वास्थ्य) र नवलकिशोर साह (वन) को सिफारिस गरिसकेको अवस्था छ । 

क्याबिनेटमा अहिले नै तीन उपप्रधानमन्त्री छन् । रघुवीर,नारायणकाजी श्रेष्ठ र रवि लामिछाने क्रमशः पहिलो दोस्रो र तेस्रो वरीयतासहित । वरीयताबारे पार्टी बैठकमा लामो छलफल भए पनि यादव आफ्नो अडानमा बसेपछि हिजो शपथ ग्रहण हुन सकेन ।

"अघिल्लो सरकारमा पनि काँग्रेसले पूर्णबहादुर खड्कालाई १ नम्बरमा राखेर नारायणकाजीलाई पछाडि पार्यो । जबकि खड्काभन्दा धेरै पटक उपप्रधानमन्त्री भइसकेका श्रेष्ठलाई सानै दलका मन्त्रीको रुपमा व्यवहार गरिएको हो ।’

यसबारे जसपाकै एकथरी नेताहरु भने प्रष्ट छन् । उनीहरु ठूला दलले विगतमा गरेको प्राक्टिसलाई आफूहरुले त्यतिबेला मानेकोले अहिले अप्ठ्यारो मान्नुको कुनै अर्थ नभएको बताउँछन् । जसपा उच्च स्रोत भन्छ, ‘विगतमा यादव स्वास्थ्यमन्त्री हुँदा पनि एमालेका ईश्वर पोखरेलललाई उपप्रधानमन्त्रीको १ नम्बरमा राखिएको थियो । त्यसबेला यादव पार्टी अध्यक्ष भए पनि ठूलो दल नेकपाएमालेका महासचिवको नाताले पोखरेललाई वरिष्ठको हैसियत दिइएको थियो ।’

त्यसबेला पनि यादवले मन दुखाएको तर शपथका लागि शीतल निवास पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो पार्टी भन्ने तर्कको आधारमा पेलपाल गर्नुभएको थियो । जसपाका एक जनाले भने,‘अघिल्लो सरकारमा पनि काँग्रेसले पूर्णबहादुर खड्कालाई १ नम्बरमा राखेर नारायणकाजीलाई पछाडि पार्यो । जबकि खड्काभन्दा धेरै पटक उपप्रधानमन्त्री भइसकेका श्रेष्ठलाई सानै दलका मन्त्रीको रुपमा व्यवहार गरिएको हो ।’ 

यी सबै घटनाक्रमले मन्त्रिपरिषद् गठनमा वरीयताको विवादलाई ठूला दलको प्रोटोकलको आधारमा टुंग्याउने गरिएको पुष्टि भएको छ । ‘यसअघि सोही पार्टीका शिक्षामन्त्री अशोक राई ठूला दलका मन्त्रीहरुभन्दा तल थिए । उपेन्द्र स्वयम् पनि हिजोका दिनमा त्यसरी नै गएका हुन् । पहिले आफैँले कायम गर्न दिएको प्रोटोकोललाई अहिले नमान्नु त नहुने हो,’ जसपाका एक जना पदाधिकारीले भने । 

उनीहरुमध्ये धेरैले मुख्य कुरो उपप्रधानमन्त्री भएको तर्क गरेका छन् । वरिष्ठता,१ नम्बर वा २ भन्ने कुरोलाई भन्दा काम र पर्फमेन्सलाई आधार बनाउनुपर्नेमा अध्यक्ष अन्य कुरातिर बहकिएको उनीहरुको धारणा छ ।

अस्तिको बैठकमा भारतीयहरुसँग निकट सम्बन्ध राख्दै आएका भनिएका केही पदाधिकारीले हतार हतार क्याबिनेटमा सहभागी नहुन सुझावसमेत दिएका थिए । मोहम्मद इस्तियाक राई, रेणु यादवहरुको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘केही दिन पर्खौं, परिस्थिति अर्कै हुन्छ । शक्ति राष्ट्रहरु लागिपरेका छन् ।’ 

हिजो शिवरात्री र महिला दिवस तथा आज शनिबार परेकाले शपथ ग्रहण गर्न तयार भएको अवस्थामा समेत कम्तीमा भोलिसम्म कुर्नुपर्ने भएको छ । सोमबार पनि सार्वजनिक बिदा भएकाले आइतबार तयार नभए मंगलबार मात्रै यादवहरुले शपथ ग्रहण गर्नुपर्ने हुन सक्छ ।

टिप्पणीहरू