समीकरण फेरिएपछि गगन थापा दंग

सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन गर्ने अभ्यास अन्त्य भएको दावी गरेका छन् । माओवादीसँगको सहकार्यलाई लिएर पार्टीमा फरक मत राख्दै आएका उनले उक्त धारणा सार्वजनिक गरेका हुन् । 

पछिल्लो राजनीतिक परिस्थितिले चुनावपूर्व गठबन्धन गर्नु गलत रहेको आफ्नो धारणा यतिखेर सत्य सावित भएको जनाउँदै थापाले खुशी व्यक्त गरे । गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघि गठबन्धन गर्ने कुरा अब नेताहरुले कल्पनासमेत नगर्ने ठोकुवा गरेका छन् । समीकरण फेर्ने नाममा सबैले सबैबाट धोका खाइसकेकाले यो स्थिति आएको उनको भनाई छ ।

थापाले चुनावअघि गठबन्धन गर्ने कुरा अव नेताहरुले कल्पनासमेत नगर्ने दाबी गरे । समीकरण फेर्ने नाममा सबैले सबैबाट धोका खाइसकेकाले यो स्थिति आएको उनको भनाई छ

‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । एउटा कुरा मलाई खुशी लागेको छ । यो चुनावभन्दा अघि पार्टीहरु मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्नेबारेमा कल्पनै गर्दैन’, महामन्त्री थापाले भने । 

नयाँ सत्ता समीकरणको अन्तर्य समयक्रममा खुल्दै जाने थापाको भनाई छ । गठबन्धनको संस्कृतिले राजनीतिमा भ्रष्टिकरण बढेको जनाउँदै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकतामाथि पनि जोड दिएका छन् ।

टिप्पणीहरू