पुरानो घटनामा माओवादीविरुद्ध पक्राउ पुर्जी

पुरानो घटनामा माओवादीविरुद्ध पक्राउ पुर्जी

१५ वर्षअघिको घटनामा माओवादी कार्यकर्ताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एबिसी टेलिभिजनमा कार्यरत जिल्ला संवाददाता एवं हाल धादिङको धुनिबेसी नगरपालिका–६ का वडाध्यक्ष रमेश आचार्यसहित झण्डै दुई दर्जनलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको छ । डाँका तथा आगजनीको मुद्दामा यसअघि पनि पुर्जी जारी भएको थियो । 

कृष्णहरि श्रेष्ठ धादिङको साविक बैरेनी गाविस र गल्छी गाउँपालिकाको तत्कालीन अध्यक्षसमेत रहिसकेका व्यक्ति हुन् । उनको पेट्रोल पम्प जलाउनेहरू आँखैअगाडि छन् तर प्रहरीले समात्न सकेको छैन । बस्, पक्राउ पुर्जी जारी गर्ने र भेटिएन भन्ने काम मात्र भइरहेको छ ।

भएको के थियो ? 

बैरेनी बजारमा उनको ‘धादिङ आयल डिष्ट्रिब्युटर्स’ नामक पेट्रोल पम्प थियो । चार जना कर्मचारी थिए । २०६५ कात्तिक ३ गते त्यहाँ अप्रिय घटना घट्यो । राति ९ बजेतिर माओवादी दुई दर्जन बढीको टोली उनको पम्पमा प्रवेश गरी खुकुरी, भाला, लाठीलगायत हातहतियारले स्टाफ रामशरण अधिकारी, दिनेश श्रेष्ठ, खड्कबहादुर बुढाथोकी र जीवन कालाखेतीलाई कुटपिट गर्‍यो । त्यसबेला कृष्णहरि घरमै थिए । उनीहरूले पम्पको काउण्टरमा छिरेर दिनभर बिक्री गरेको र इन्धन खरिद गर्न राखेको रकम लुटपाट गरे । कर्मचारीलाई बाहिर निकालेर काउण्टरमा तोडफोड गरे र आगजनीसमेत गरे । झण्डै तीन हजार ५०० लिटर इन्धनसहित फर्निचर, लुगा, पम्पको नोजल ह्वारह्वारी बल्यो । 

तत्कालै प्रहरीको भ्यान घटनास्थलमा पुग्यो । उनीहरूविरुद्ध कृष्णहरिले शुरुमा ईलाका प्रहरी कार्यालय गजुरीमा जाहेरी दिए । इन्धन बेचेको र खरिद गर्न राखेको चार लाख रूपैयाँ लुटपाट र ६ लाख रूपैयाँ बराबरको क्षति गरेको भन्दै २६ जनाविरुद्ध डाँका र आगजनी मुद्दामा जाहेरी दिएका हुन् । ध्रुव सुवेदी, रमेश अधिकारी, सूर्य तामाङ, प्रेमबहादुर अधिकारी, भरत अधिकारी, ध्रुव रुवाली, डुण्डबहादुर सिलवाल, विमल क्षेत्री, रिजन राई, सम्बुदी कँडेल, शंकर पण्डित, उद्धव कार्की, टोमप्रसाद अधिकारी, रेशमराज खतिवडा, मेघबहादुर बिक, उत्तम अधिकारी, नवराज खड्का, केदार पौडेल, रामचन्द्र रिजाल, बलराम रम्तेल, ईश्वरी अधिकारी, होमप्रसाद खतिवडा, भरत ढुंगाना, रमेश आचार्य, रामकृष्ण आचार्य, रामप्रसाद पुडासैनीको नाम जाहेरीमा उल्लेख छ ।

 

कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी दिए । प्रहरीले मुचुल्का उठायो । सो मुद्दामा अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय धादिङमा मिशिल पेश भयो । प्रहरीको प्रतिवेदनमै डाँका तथा आगजनी गरेको पुष्टि भएको व्यहोरा उल्लेख छ । जिल्ला अदालतले ध्रुवसहितका प्रतिवादीको नाममा म्यादी पुर्जी तामेलीका लागि प्रहरीलाई पत्र पठाएको थियो । भरत ढुंगाना, टोमप्रसाद अधिकारी, रमेश आचार्यको नाममा म्याद प्राप्त नभएपछि अदालतले पुस २४ गते ७० दिने पुर्जी जारी गर्‍यो ।

लामो समयसम्म पनि उनीहरू हाजिर हुन नआएपछि न्यायाधीश रमेशप्रसाद ज्ञवालीले २०७८ कात्तिक १६ गते मुल्तवी जगाउने आदेश गरे । आदेशमा भनिएको छ, ‘यस अदालतको मिति २०७०–०२–१६ को आदेशानुसार प्रतिवादीहरूको हकमा अ.बं. १९० नम्बर बमोजिम हालसम्म हाजिर भएको नदेखिएको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ (४) को अवस्थासमेत व्यतित भइसकेको प्रस्तुत मुद्दा जगाइदिएको छ, अब प्रस्तुत मुद्दा सरकारवादी फौजदारी डायरीमा दर्ता गरी नियमानुसार इजलाशसमक्ष पेश गर्नु ।’

माघ ८ गते अदालतले ती प्रतिवादीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङले ईलाका प्रहरी कार्यालय, गजुरीलाई पत्राचार गर्दै पक्राउ पुर्जी तामेल गरी पठाउन निर्देशन दिएको छ । अदालतका तहसिलदार ध्रुवप्रसाद सुवेदीका अनुसार अनुपस्थित प्रतिवादीहरूको नाममा पक्राउ पुर्जी जारी भएको छ । ‘४ जनाको हकमा पहिले नै पक्राउ पुर्जी तामेल भएको रहेछ । त्यसैले अहिलेचाँहि अन्यविरुद्ध म्याद दिएर पठाएका हौं,’ उनले भने । 

आँखाअगाडि प्रतिवादी, प्रहरी खोजेको खोज्यै

प्रहरीले भेट्न नसकेका प्रतिवादीहरू माओवादी केन्द्रको प्रदेश कमिटी र जिल्ला समितिमा छन् । कोही पालिका अध्यक्षको सल्लाहकार छन् त कोही जनप्रतिनिधिमा निर्वाचित भएका छन् । ध्रुव्र सुवेदी हाल दुर्गा प्रसाईंको साँवा, ब्याज नतिर्ने अभियानमा लागेको बुझिएको छ । सूर्य तामाङ गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको सल्लाहकार छन् । रमेश आचार्य जनप्रतिनिधि छन् ।

उनको हकमा अदालतले २०६९ पुस २३ गते ७० दिने म्यादी पुर्जी जारी गरेको थियो । सो पुर्जी गुजारी बसेमा दुई वर्षसम्मका लागि अंश रोक्का गरिने र सो अवधिमा पनि हाजिर हुन नआएमा ऐनबमोजिम गर्ने उल्लेख छ । त्यस्तै, समृद्धि कँडेल अष्ट्रेलियामा रहेको बुझिएको छ । केही भने नेकपा एमालेमा प्रवेश गरेका छन् । 

पक्राउ पुर्जीबारे थाहा भएन : डिएसपी 

माओवादीका प्रधानमन्त्री र गृहमन्त्री भएकाले यो मुद्दालाई अघि बढाउन प्रहरी डराइरहेको स्रोत बताउँछ । यसअघिका एसपी गौतम मिश्रले ‘म कारबाही गर्न सक्दिनँ’ सम्म भनेका थिए । उनी लामो समयदेखि धादिङबाट सरुवा हुन खोजिरहेका थिए । हाल गौतमकुमार केसी आएका छन्् ।

यता, डिएसपी सन्तुलाल जैसवालले भने यस विषयमा कुनै जानकारी नभएको दाबी गरे । ‘अदालतबाट माघ ८ गते कुनै आदेश भएकोचाँहि सुनेको छु । हाम्रो कार्यालयलाई अहिलेसम्म कुनै पत्र आएको छैन’, उनले भने । जबकि उनको कार्यालयको मुद्दा शाखाका इन्स्पेक्टर अभय लामाले पक्राउ पुर्जी तामेलीका लागि इलाका प्रहरी कार्यालयलाई पत्राचार गरेका छन् । कृष्णहरि भन्छन्, ‘अहिले माओवादीकै सरकार छ । प्रदेशको मुख्यमन्त्री पनि माओवादीकै छन् ।’
 

टिप्पणीहरू