काँग्रेसले फेरि पोख्यो गठबन्धन टुटेको पीडा

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण गठबन्धन भत्किएको दावी गर्दै आएको प्रतिपक्ष नेपाली कांग्रेसले सोही कुरा दोहोर्याएको छ । आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीका कारण गठबन्धन नटुटेको बताएका हुन् ।  

सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको पनि महतले खण्डन गरे । उनले भने, ‘नेपाली काँग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु झुटो कुरा हो । म यो कुरा ठोकुवाका साथ भन्छु- हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो ।'

मुलुकको अर्थतन्त्र सुधार्न आफूहरुले तयार पारेको मार्गचित्रले मुलुकलाई झनै गति दिएकोसमेत निवर्तमान अर्थमन्त्रीसमेत रहेका महतको दावी छ । आफूले अघि सारेको अर्थतन्त्रको मार्गचित्र अहिलेको सरकारले छोडे देश अप्ठेरोमा पर्ने निश्चित रहेको उनले जिकिर गरे ।

'हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्गचित्र तयार गरेका छौं । र, आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ । त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो । यदि त्यो बाटो छोडेर फेरि यो गैरप्राथमिकताको क्षेत्रमा जथाभावी स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अप्ठेरोमा पर्ने निश्चित छ'. महतले भने । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको उनको आरोप छ । 

नेपाली कांग्रेस र अझ खासगरी महतकै असहयोगका कारण गठबन्धन फेर्नुपरेको प्रधानमन्त्रीको भनाईको काँग्रेसले यसअघि पनि खण्डन गरेको थियो।

टिप्पणीहरू